भारत–पाकिस्तान तनावका कारण आईपीएल स्थगित

काठमाडौं । विश्व क्रिकेटकै एक नम्बरको लिग प्रतियोगिता भारतीय प्रिमियर लिग ‘आईपीएल’ स्थगित भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्डको आजको निर्णय अनुसार आईपीएल अहिलेका लागि स्थगित गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
हिजो आइपीएलको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । त्यसपछि प्राविधिक कारणले खेल स्थगन गरिएको सूचना निकालियो । यद्यपि, मुख्य कारण सुरक्षाको थियो । पाकिस्तानले ड्रोन आक्रमण गरेको हल्लापछि खेल रोकिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीचको खेल १०.१ ओभरमा पुग्दा अचानक फ्लडलाइट निभेको थियो । त्यसपछि रंगशाला पूर्णरुपमा खाली गरियो । खेलाडीहरू र अफिसियलहरुलाई स्पेसल ट्रेनबाट दिल्ली पुर्याइयो ।
आज आइपीएलमा लखनउ र बैंगलोरबीचको खेल लखनउमा हुने सेड्यूल थियो । तर, बीसीसीआइले अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गरेको हो ।
आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन् । अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ ।
पाकिस्तानमा भइरहेको पीएसएलका बाँकी खेलहरु यूएईमा हुने भएका छन् ।
प्रतिकृया दिनुहोस