निधारमा भ्रष्टाचारीको टिका लगाएर सिन्धुपाल्चोकमा आयोजना उद्घाटन गर्दै बस्नेत

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद प्रकरणमा सवा तीन अर्ब भ्रष्टाचारको अभियोग लागेका कांग्रेस सांसद मोहनबहादुर बस्नेतका गतिविधि र सक्रियता पहिलेकै जस्तो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनको सांसद पद निलम्बनमा परेको छ । तर बस्नेत सांसदकै हैसियतमा जिल्लामा विभिन्न स्थानको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जाने गरेका छन् ।
‘सांसद, मन्त्री भए वा नभए पनि सिन्धुपाल्चोकको सरकार मै हुँ’ भनेर अभिव्यक्ति दिने बस्नेतको पद निलम्बनपछि कतिपय कांग्रेस कार्यकर्ता उग्र बनेका छन् भने धेरैजसो शुभचिन्तक निराश देखिन्छन् । सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ता उनको बचाउमा लागेका छन् ।
एमाले र माओवादी नेताकार्यकर्ताले राजनीतिक नैतिकता स्थापित गर्न अख्तियारले दर्ता गरेको मुद्दाको फैसला नभएसम्म बस्नेत सार्वजनिक कार्यक्रममा जान नहुने भन्दै विरोध गरिरहेका छन् ।
लिसंखुपाखर गाउँपालिका– २ निगालेमा हालै सम्पन्न निगाले नारगाउँ खानेपानी योजनाको उद्घाटनमा सोमबार पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भए ।
स्थानीय सरकार प्रमुख राजु लामाले विज्ञप्ति जारी गरेर भ्रष्टाचार मुद्दामा रहेका निलम्बित सांसदले खानेपानी योजना उद्घाटन गर्न नमिल्ने बताएका थिए । लामा माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । वडा नम्बर २ का अध्यक्ष कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । स्थानीय सरकारबाट एक करोड ३० लाख विनियोजन गरेर निगाले नारगाउँका ५५ घरधुरीलाई खानेपानी व्यवस्थापन भएको छ । खानेपानी योजनामा बस्नेतको कुनै भूमिका नरहेको अध्यक्ष लामाको दाबी छ ।
स्थानीय सरकारको अनुरोधलाई बेवास्ता गर्दै ठुलो संख्यामा मोटरसाइकल, गाडी र कार लिएर नाराबाजी गर्दै बस्नेत उद्घाटनस्थल पुगेका थिए । उनले सिन्धुपाल्चोक १ का सांसद माधव सापकोटा र कम्युनिस्ट शक्तिको विरोध गरेका थिए ।
विशेष अदालतमा मुद्दा परे पनि केही फरक नपर्ने बताउँदै उनले राजनीतिक पूर्वाग्रह साFधेर मुद्दा लगाएको दाबी गरे । सिन्धुपाल्चोकमा भएका सबै विकास आफैँले गरेको जिकिर गर्दै उनले अझै चारपटक चुनाव लड्ने घोषणा गरे ।
यस्तै, बस्नेतले मंगलबार सुनकोशी गाउँपालिका– २ ठोकर्पामा निर्माण सम्पन्न भएको स्वास्थ्यचौकी भवन उद्घाटन गर्ने भएका छन् । बस्नेत प्रमुख अतिथिको रूपमा आउने प्रचार–प्रसार गरिएपछि स्थानीय सरकार प्रमुख टपीन्द्र तिमल्सिनाले पनि विज्ञप्ति जारी गरेर स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ को उपदफा २ (झ)मा भएको व्यवस्थाविपरीत कांग्रेस कार्यकर्ताले जबर्जस्ती गरे प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।
एमाले र माओवादी सुनकोशी गाउँपालिका कमिटीका अध्यक्षद्वय रामहरि खड्का र भीमबहादुर योञ्जनले विज्ञप्ति जारी गरेर राजनीतिक नैतिकताको खिल्ली उडाउनेविरुद्ध प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस