टेलिकमका प्रबन्ध निर्देशकसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी र पौडेलसहित १८ विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ ।
त्यस्तै बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरेबराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा लगेको हो।
पहाडी लगायतले नेगोसियसनको नाममा बिलिङ प्रणालीमा चिनियाँ कम्पनी एसिया इन्फोसँग मिलेर वर्षेनी ६० करोड भन्दा बढी रकम घाटा पुर्याएको अख्तियारको निष्कर्ष छ।
यस प्रकरणमा पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि अख्तियारले बयान लिएको थियो।
प्रतिकृया दिनुहोस