खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरी सेवाग्राहीसँग रिसवत लिएको आरोपमा खरिदारसहित ४ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे, खरिदार रतनबहादुर जिसी, लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
उनीहरूले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गर्ने भनेर लेखापढी व्यवसायी (विचौलिया) मार्फत् सेवाग्राहीसँग घुस/रिसवत लिने गरेको अख्तियारको आरोप छ।
विचौलियामार्फत् सेवाग्राहीसँग २० हजार रूपैयाँ घुस लिई तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएकोबेला रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता थपलियाले बताए।
अख्तियारले चारै जनाविरूद्ध २० हजार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।
यसैबीच अख्तियारले सव इन्जिनियरको जागिर खान नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा एक जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयका तत्कालीन सव-इन्जिनियर दीपेन्द्रकुमार झा भनिने दिपेन्द्र कुमारविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनी करारको जागिर पाउनका लागि गाउँपालिकामा नक्ककी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप अख्तियारको छ।
प्रतिकृया दिनुहोस