बालेनमाथि गुरागाईकाे आराेपः मैले पहिला भएका निर्णय ‘इन्डोर्स’ मात्रै गरेको

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले लामो मौनतापछि मुख खोलेका छन् । काठमाडौं टावरको विषयमा मेयर बालेन शाहले भ्रष्टाचार गरेको दावी गरिरहँदा अन्ततः उनले मुख खोलेका हुन् । गुरागाईंले काठमाडौं टावरको नक्शा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै पनि सत्यता नभएको बताए ।
पहिलै भएको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको उनको भनाइ छ । ‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो । मैले नक्शा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’ उनले भने, ‘सम्वन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानुन र प्रक्रियामा दोषि प्रमाणित गर्यो भने म कारबाही भोग्न तयार छु, तर अहिले जुन ढंगबाट लाल्छना लगाउने काम भएको छ त्यो गलत छ ।’
प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै आफ्ना कारणले बजेट रोकिनु नहुनेमा जोड दिएका छन् । ‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर सा’ब तथा उपमेयर ज्यु र जनप्रतिनिधिका निर्णयहरुमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु,’ उनले भने, ‘तर, अहिले जुन ढंगले बजेटसँग टावरको विषयलाई जोडिएको छ, त्यो जोड्नुपर्ने कारण नै होइन भन्ने लाग्छ । कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ।’
उनले आफू नरहेका बेला पनि लामो समयदेखि बैठक नबसेको स्मरण गरेका छन् । ‘व्यक्ति तोकेर तँ भ्रष्टाचारी होस् भन्न मिल्ला ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,’ गुरागाईंले थपे, ‘त्यसरी व्यक्तिको चरित्र हत्या गर्ने कुरा गलत छ । यदि तपाईलाई कसैले विना प्रमाण चरित्र हत्या गर्छ भन्ने त्यसलाई ठिक भन्न सक्नु हुन्छ ? मैले अहिलेसम्म मेयर सावका बारेमा केही पनि भनेको छैन नि ? अनि मेयरको सचिवालयको हवला दिदैँ मलाई आरोप लगाउने कुरा कसरी ठीक हुन्छ ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि ? आधिकारिक निकाय हुन्छ होला । उसले मेरो बारेमा छानविन गरिरहेको होला नि ?’
प्रतिकृया दिनुहोस