काठमाडौँ महानगरपालिकाकाे बजेटको सीमा २५ अर्ब ११ करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सकिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजास्थित महानगरको कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय समेत समितिले गरेको छ । केही बेरमा बस्ने ४० औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभामार्फत बजेट सार्वजनिक गर्ने छ ।
नगर सभा बैठकमा प्रमुख बालेनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने छिन् । आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई पनि उपस्थित थिए । यस्तै बैठकमा राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस