रोल्पाका पुराना नेता बालारम घर्तीमगरको निधन

काठमाडौं । रोल्पाका पुराना नेता तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको शुक्रबार बिहान निधन भएको छ। ८७ वर्षीय घर्तीमगर लामो समयदेखि बिरामी थिए । उनको उपचारकै क्रममा राजधानीको एक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पञ्चायती प्रणालीदेखि बहुदलीय व्यवस्थासम्म झन्डै ३० वर्षसम्म तत्कालीन राप्रपाबाट निर्वाचित हुँदै पाँच कार्यकालसम्म मन्त्री बनेका घर्ती मगरको जन्म विसं १९९४ साउन १८ गते रोल्पाको साबिक मिझिङ गाविस–५ उपल्लोथर गाउँमा भएको थियो। पछिल्लो समय उनी ललितपुरस्थित आफ्नै निवासमा बसोबास गर्दै आएका थिए।
तत्कालीन राजदरबारका विश्वासपात्रका रूपमा चिनिएका घर्तीमगरले उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनले लामो समयसम्म सांसद तथा मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।
विसं २०१७ मा रोल्पाका तत्कालीन कांग्रेस नेता खडानन्द सुवेदीका सहयात्री बनेका उनले सुवेदीसँग मिलेर 'गाउँ फर्क राष्ट्रिय अभियान' सञ्चालन गरेका थिए। सुरुआती समयमा उनी पञ्चायती राजनीतिको रोल्पा उपसभापतिका रूपमा सक्रिय थिए।
विसं २०१८ र १९ मा प्युठान, दाङ, रुकुम र सल्यानका केही भाग मिलाएर गठन गरिएको नयाँ जिल्लाको निर्माण तथा शैक्षिक विकासमा उनी अग्रपङ्क्तिमा रहे। त्यसैले उनलाई जिल्लावासीले ‘रोल्पा विकासका पिता’ को रूपमा सम्झने गर्छन्।
उनका भाइ भूपनारायण घर्ती पनि राजनीतिमा सक्रिय थिए र उनी हाल अमेरिकामा छन्। बालारामका पाँच छोरी छन् ।
प्रतिकृया दिनुहोस