ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा ‘दुई वर्षभित्र तुइनमुक्त’ बनाउने घाेषणा गरे, तर अहिले पनि ज्याउन गुमाउँछन् मानिस

धनगढी । उपभोग्य वस्तु किनमेलका लागि हिँडेका व्यास गाउँपालिका–२ तल्लो दुम्लिङका २८ वर्षीय नारायणसिंह बुढाथोकी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन् । मंगलबार दिउँसो किनमेलका लागि भारतीय बजार हिँडेका नारायणसिंह तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएको व्यास-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।
भारतपट्टि तुइन बाँधिएको ठेसो (खम्बा) भाँचिदा नारायणसिंह तरिरहेको तुइन महाकालीमा खसेको हो । उनीसँगै रहेका अन्य दुई जनामध्ये एक जना पारि (भारत) तरिसकेको र एक जना वारि (नेपालतर्फ) रहेको धिरनसिंहले बताए ।
सरकारले तुइन विस्थापन गर्ने भनेर पटक-पटक घोषणा गरे पनि भाषणमै सीमित भएको छ । २०७२ असोजमा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा ‘नेपाललाई दुई वर्षभित्र तुइनमुक्त’ बनाइने घोषणा गरेका थिए । अहिले पनि ओली नै प्रधानमन्त्री छन् । २०७२ मै २ वर्षभित्र तुइन विस्थापन गर्ने भनेको सरकारले यस वर्ष पनि नीति तथा कार्यक्रममा उही कुरा दोहोर्याएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेत सम्पूर्ण तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्ने घोषणा छ ।
दार्चुलामा सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा महाकाली तर्न अझै आधा दर्जन तुइन राखिएका छन् । व्यास गाउँपालिका–२ र ५ का बासिन्दालाई अझै किनमेलदेखि औषधि उपचार तथा आफ्नै जिल्ला सदरमुकाम पुग्न तुइनबाट महाकाली तरेर भारतको बाटो हिँड्नु पर्ने बाध्यता छ । डोरी वा फलामको सामान्य तारलाई वारिपारि रुख, ढुंगा वा खाँबोमा अड्काएर महाकाली तर्दा दुर्घटना हुने गरेको हो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश दाहालले दुम्लिङ (नेपाल)बाट भारततर्फ जाँदा डोरी चुँडेर नारायणसिंह महाकाली नदीमा खसेको बताए । उनले नेपालतर्फ दुम्लिङ र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रूपमा तुइन लगाउने गरेको पाइएको बताए । सँगै तुइन तर्न गएका अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनबाट महाकालीपारि जान नारायणसँगै गएका थिए । जितुले महाकाली पार गरी सकेपछि नारायणसिंहले तर्न थालेका थिए । उनी नदीको बीच भागमा पुग्दा तुइन बाँधेको खाँबो भाँचिदा नदीमा खसेर बेपत्ता भएका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दुम्लिङभन्दा तल्लो क्षेत्रमा खोजी गरिरहेका छन् ।
वडाध्यक्ष बुढाथोकीका अनुसार गत वर्ष पनि दुम्लिङकै सुन्दरसिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका थिए । नारायण बेपत्ता भएको र सुन्दरसिंह खसेको तुइन फरक–फरक रहेको उनले बताए । ‘अघिल्लो वर्ष दुम्लिङ क्षेत्रकै १८ वर्षीय सचिन बुढाथोकी पनि महाकालीमा बेपत्ता भएका थिए । यी तीनै जना फरक–फरक तुइनबाट खसेका हुन्’, वडाध्यक्ष बुढाथोकीले भने, ‘प्रत्येक वर्ष तुइनबाट खसेर यहाँका कोही न कोही महाकालीमा खसेकै हुन्छन् ।’
दुम्लिङमा मात्रै स्थानीयले तीन ठाउँमा तुइन लगाएर महाकाली वारपार गर्छन् । स्थानीयले सरकारलाई दुम्लिङ बस्तीनजिक झोलुंगे पुल निर्माणका लागि कैयौंपटक आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको वडाध्यक्ष बुढाथाकीले बताए । महाकालीमा आधा दर्जन ठाउँमा झोलुंगे पुल निर्माणका लागि अनुरोध गरिए पनि सरकारले माग सम्बोधन नगरेको स्थानीयको गुनासो छ । सबैभन्दा बढी दुम्लिङका बासिन्दालाई पुलको खाँचो रहेको वडाध्यक्ष बुढाथोकीले बताए ।
दार्चुला सदरमुकामभन्दा माथिल्लो क्षेत्रमा नेपाल–भारत जोड्न व्यास गाउँपालिकाको ५ ठाउँमा महाकालीमाथि पुल हालिएको छ । सबैभन्दा माथिल्लो क्षेत्र सीतापुलमा पुरानो काठे पुल छ भने अन्य ४ ठाउँ नयाँ झोलुंगे पुल निर्माण भएका छन् । मंगलबार दुर्घटना भएको स्थान तल्लो दुम्लिङबाट नजिकको वडा नम्बर २ कै माल्घाटस्थित झोलुंगे पुल पुग्न दुई घण्टा लाग्छ । अर्को झोलुंगे पुल वडा नम्बर ४ को मल्घट्टेमा छ ।
वडा नम्बर ५ को तिगरम, वडा नम्बर ६ को बडूगाउँमा पनि झोलुंगे पुल छन् । पुलबाट वारपार गर्न आफ्नो बस्ती भन्दा टाढा र पुलसम्म पुग्ने बाटो समेत सहज नहुँदा वारिपारिका स्थानीयले मिलेर पायक पर्ने ठाउँमा अस्थायी तुइन राख्ने गरेका छन् । यस्ता अवैध तुइनबाट हरेक वर्ष एक/दुई जना महाकालीमा बेपत्ता हुँदै आएका छन् । २०७८ सालमा जयसिंह धामी तुइनबाट महाकालीमा खसेर बेपत्ता भए । त्यसको अघिल्लो वर्ष व्यास–४ डोकटका १० वर्षीय दिपेन्द्र बिष्ट बेपत्ता भएका थिए । यातायातको पहुँच नभएको यो क्षेत्र जान नेपालपट्टि पैदल बाटोसमेत छैन । स्थानीयले आफ्नै जिल्ला सदरमुकाम आउन पनि भारतको बाटो प्रयोग गर्दै आएका छन् ।
अहिले पनि व्यास–२ दुम्लिङ र बुदी तथा वडा नम्बर-५ धौलाकोटका बासिन्दा तुइनमार्फत महाकाली वारपार गर्छन् । कान्तिपुर दैनिकबाट
प्रतिकृया दिनुहोस