सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय वेपत्ता, खोजी शुरु

काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि एकाएक बेपत्ता भएका हुन् ।

 सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् । वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् ।

वडाध्यक्ष श्रेष्ठका अनुसार भान्साघर जलेको अवस्थामा छ । साथै भाँडाहरू अस्तव्यस्त भेटिएको छ । खोरमा पाँचवटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । अल्पसंख्यक लोपोन्मुख हायू जाति भएकाले सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा फोन नम्बर हुने भएकाले सम्पर्कको प्रयास गरिराखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘कहाँ गए, कता गए अत्तोपत्तो छैन,’ श्रेष्ठले भने, ‘सम्पर्क गर्ने प्रयास जारी छ ।’

सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन भएका हायू परिवारको खोजतलास भइरहेको जनाए । ‘फोनको लोकेसन रामेछाप मन्थली देखिएको भन्ने आएको छ,’ उनले भने, ‘कतै घुम्न गएका हुन् कि भन्ने अनुमान छ । तर स्थलगत रूपमा कोही भेटिएका छैनन् ।’ अनकन्टारमा घर रहेकाले छिमेकीहरूको समेत आवतजावत कम हुने गरेको पाइएको छ ।

हायू जातिलाई सरकारले लोपोन्मुख आदिवासी समुदायमा सूचीकृत गरेको छ । २०७८ को जनगणनाअनुसार हायू जातिको जनसंख्या ३ हजार ६९ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर