पोखरी जोगाउन प्रहरी भवन भत्काउने बालेनको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीचको सहकार्यमा हनुमानढोकामा रहेको नेपाल प्रहरीको पुरानो भवन भत्काएर परम्परागत पोखरी पुनर्निर्माण गरिने भएको छ।

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीबीच भएको शिष्टाचार भेटमा उक्त निर्णय भएको हो।

छलफलको मुख्य एजेन्डामध्ये हनुमानढोका क्षेत्रमा रहेको २ रोपनी क्षेत्रफलको पुरानो प्रहरी भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा सहमति जुटेको हो। प्रमुख शाहका अनुसार भूकम्पले क्षतिग्रस्त उक्त भवनको स्थानमा पोखरी पुनर्निर्माणले सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग पुग्नेछ।

'हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्व जोगाउन र परम्परागत अभ्यास कायम राख्न पोखरी निर्माण आवश्यक छ,' प्रमुख शाहले भने। महानिरीक्षक थापाले समेत यस योजनालाई अगाडि बढाउनुपर्ने बताए। 

त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, नगर प्रहरी संरचना, वडा कार्यालय स्थानान्तरण तथा मानव बेचबिखन अनुसन्धान ब्युरोको नयाँ भवन निर्माणका लागि उपयुक्त ठाउँ खोज्नेबारे पनि छलफल भएको थियो।  

ट्राफिक टावर तथा आवश्यक भवन निर्माणका लागि लेआउट तयार गर्ने जिम्मेवारी नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगर इन्जिनियर सन्तोष पाण्डेलाई दिइएको छ।

वडा नम्बर २७ को कार्यालय हाल भोटाहिटीमा रहेको साइबर ब्युरोको भवनमा सार्न सकिने विषयमा समेत छलफल भएको थियो। अहिले साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माण भइरहेको र निर्माण सम्पन्न भएपछि वडा कार्यालय हाल ब्युरो रहेको भवनमा स्थानान्तरण गरिने विषयमा समेत छलफल भएको थियो। 

बैठकमा ट्राफिक व्यवस्थापन, सवारी सुव्यवस्था, सीसीटीभी जडान, बग्गी खाना क्षेत्रको सरकारी जग्गा व्यवस्थापनलगायत सहरी सुरक्षाका विविध पक्षमा समन्वय गरेर पूर्वाधार निर्माण गर्नुपर्नेमा छलफल भएको छ।  

प्रमुख शाहले भने, 'हाम्रो लक्ष्य सांस्कृतिक सम्पदाको संरक्षण र आधुनिक पूर्वाधार विकास दुवैलाई सन्तुलनमा राखेर नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो।'

छलफलमा नेपाल प्रहरीका वरिष्ठ अधिकारी, नगर प्रहरी प्रमुख र इन्जिनियरहरूको पनि उपस्थिति थियो। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर