बागमतीमा कांग्रेसकाे कलहः कांग्रेसकै १४ सांसदले मत नदिए बानियाँकाे बहुमत नपुग्ने

हेटाैंडा । सत्तारूढ दल नेपाली कांग्रेस भित्रकाे सत्ता संकट गहिरिदाे छ । आफ्नै पार्टी भित्रको झगडाले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको पद धरापमा परेको अड्कल गरिएकाे छ।

मुख्यमन्त्री र कांग्रेस बागमती संसदीय दलको नेताबाट विस्थापित बहादुरसिंह लामा पक्षका सांसदले विश्वासको मत नदिने तयारी गरेपछि साता पनि पूरा नहुँदै बानियाँको मुख्यमन्त्री यात्रा टुंगिने जोखिम देखिएको हो। 

कांग्रेस बागमती संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री बानियाँले नियुक्तिको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने स‌ंवैधानिक व्यवस्थाअनुसार पर्सि (मंगलबार) नै विश्वासको मत लिँदै छन्। 

यसका लागि ललितपुरको भैँसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिबार दिउँसो बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँका पक्षमा मत दिन आफ्ना सबै सांसदलाई ह्विप पनि जारी गरिसकेको छ। 

‘बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको अनुरोधमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि आउँदो २७ गते मंगलबार दिनको ४ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ। उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मत जाहेर गर्नुहुन निर्देशानुसार अनुरोध गर्दछु’, एमाले बागमतीका प्रमुख सचेतक एका लाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

तर आफ्ना पक्षका ३ जनलाई मन्त्री नबनाइएको भन्दै रुष्ट निवर्तमान मुख्यमन्त्री लामा पक्षका १४ सांसदले पार्टीको ह्विप नमान्ने चेतावनी दिएका हुन्।

लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुअघि आफूपक्षीय ३ प्रदेश सांसदलाई मन्त्रीमा नियुक्ति गरेका थिए। तर विवादका कारण उनीहरूको शपथ हुन सकेकाे थिएन। पछि पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको निवासमा दुई पक्षबीच भएको छलफलमा ती ३ जनालाई नयाँ सरकारमा पनि मन्त्री बनाउने भनी बानियाँले सहमति जनाएकाले लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन राजी भएका थिए। 

तर अहिले उक्त सहमति कार्यान्वयन नगरिएको भन्दै लामा समूह मुख्यमन्त्री एवं आफ्नो संसदीय दलका नेता बानियाँसँग रुष्ट छ। 

मुख्यमन्त्री बानियाँले आफ्नै समूहका सांसदलाई मात्रै अवसर दिएको, आफूले सिफारिस गरेको तीन सांसदलाई मन्त्री नबनाएको तथा बानियाँ समूहले आफूहरूसँग कुनै संवाद नै नगरेकाले विश्वासको मत नदिने विचार गरिएको निर्वतमान मुख्यमन्त्री लामाले बताए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर