बागमती सरकारः एमालेले लगायो ह्वीप, कांग्रेसकै भोट खस्नेमा अन्योल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमाले बागमती प्रदेश संसदीय दलले ‘ह्वीप’ जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै साउन २७ गतेको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ (१) अनुसार विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठकअघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक दलको कार्यालयमा बस्ने भएकाले सबै सांसदलाई उपस्थित हुन सूचनामा भनिएको छ ।
यसअघि नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेको छ । शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले सूचना जारी गर्दै अनिवार्य उपस्थित भई छलफलमा सहभागी हुन निर्देशन दिएका थिए ।
कांग्रेसका प्रदेश सभापति समेत रहेका मुख्यमन्त्री बानियाँ आफ्नै दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी ६४ सांसदको समर्थनमा सरकार गठन गरेका हुन् । ११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५६ मत आवश्यक छ । त्यसो त बानियाँकै पार्टी कांग्रेसका ३७ सांसद रहेकाले दुई दलका गरी कुल संख्या ६४ पुग्छ । तर आन्तरिक किचलोका कारण बानियाँलाई आफ्नै पार्टीका १४ सांसदले विश्वासको मत नदिने चेतावनी दिइरहेका छन् ।
यसो हुँदा मुख्यमन्त्री बानियाँका पक्षमा बहुमतका लागि संकट देखिन्छ । आफ्नै पार्टीभित्रको झगडाले बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको पद अपठ्यारोमा देखिएको छ ।मुख्यमन्त्री र कांग्रेस बागमती संसदीय दलको नेताबाट विस्थापित बहादुरसिंह लामा पक्षका सांसदले विश्वासको मत नदिने तयारी गरेपछि साता पनि पूरा नहुँदै बानियाँको मुख्यमन्त्री यात्रा टुंगिने जोखिम देखिएको हो ।
कांग्रेस बागमती संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री बानियाँले नियुक्तिको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पर्सि (मंगलबार) नै विश्वासको मत लिँदै छन् ।
तर आफ पक्षका तीन जनलाई मन्त्री नबनाइएको भन्दै रुष्ट निवर्तमान मुख्यमन्त्री लामा पक्षका १४ सांसदले पार्टीको ह्वीप नमान्ने चेतावनी दिएका छन् । लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुअघि आफूपक्षीय तीन प्रदेश सांसदलाई मन्त्रीमा नियुक्ति गरेका थिए । तर विवादका कारण उनीहरूको शपथ हुन सकेन । पछि पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको निवासमा दुई पक्षबीच भएको छलफलमा ती तीन जनालाई नयाँ सरकारमा पनि मन्त्री बनाउने भनी बानियाँले सहमति जनाएकाले लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन राजी भएका थिए ।
तर अहिले उक्त सहमति कार्यान्वयन नगरिएको भन्दै लामा समूह मुख्यमन्त्री एवं आफ्नो संसदीय दलका नेता बानियाँसँग रिसाएको हो । मुख्यमन्त्री बानियाँले आफ्नै समूहका सांसदलाई मात्रै अवसर दिएको, आफूले सिफारिस गरेको तीन सांसदलाई मन्त्री नबनाएको तथा बानियाँ समूहले आफूहरूसँग कुनै संवाद नै नगरेकाले विश्वासको मत नदिने विचार गरिएको निर्वतमान मुख्यमन्त्री लामाले बताए ।
तर यस विषयमा निष्कर्षमा पुग्न अहिले दिउँसोका लागि १४ सांसदको भेला बोलाइएको लामा निकट प्रदेश सांसद गोविन्द लम्सालले जानकारी दिए । ‘मुख्यमन्त्रीले विश्वासको मतका लागि ह्वीप जारी गर्नु भएको छ, सो सम्बन्धमा छलफल गर्नका लागि हामीले भेलाको आयोजना गरेका छौँ,’ लम्सालले भने, ‘भेलामा हामी कसरी अघि बढ्ने भनेर छलफल गर्छौं ।’
यसपछि पार्टी सभापति देउवालाई भेट्न काठमाडौँ जाने तयारी पनि रहेको उनले बताएका छन् । ‘बैठकपश्चात सभापति ज्यूलाई भेट्न जाने तयारी छ । उहाँसँग बसेर हाम्रो रणनीति सुनाउनेछौं । उहाँ सकारात्मक हुनुभयो र हाम्रो माग कार्यान्वयन गराउन मुख्यमन्त्रीलाई निर्देशन दिनुभयो, माग सम्बोधन भएर तीन मन्त्री नियुक्त गरियो भने विश्वासको मत दिन्छौं । नत्र सभापतिलाई राजीनामापत्र बुझाएर फर्कन्छौँ’, सांसद लम्सालले भने । लामा समूहका १४ सांसदले सामूहिक हस्ताक्षर गरेको राजीनामापत्र तयार रहेको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस