लामा पक्ष हेरेको हेर्यै, मुख्यमन्त्री बानियाँले कांग्रेसबाट पाँच मन्त्री नियुक्त गर्दै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (शुक्रबार) सरकार विस्तारको तयारी गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषदमा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी अगाडि बढेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।
२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर शपथ गराएका थिए । कांग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले अब पाँच मन्त्रालय लिन बाँकी रहेको छ ।
जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् । कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे, रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद प्रभात तामाङ, भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद सुरेश श्रेष्ठलाई मन्त्री बनाउन लागिएको गोप्य स्रोत जनाएको छ ।
यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री बानियाँ जुटेका छन् । यी पाँच जना नै बानियाँनिकटका सांसद हुन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका तीन सांसदलाई मन्त्री बनाउने सहमति भएको भनिए पनि उनीहरू सूचीमा छैनन् ।
उनीहरुलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको टुंगो लाग्न भने बाँकी छ । नव नियुक्त मन्त्रीहरूको शपथ आजै दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिने स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस