रुबिको हत्या गरेर आत्मदाह गरेका पासवानको पनि मृत्यु

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी साहको हत्या गरेर आत्मदाह गरेको स्वीकार गरेका लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौंमा आज मृत्यु भएको छ।

लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए। प्रहरीका अनुसार उनको शरीरका ६०  प्रतिशतभन्दा बढी भाग जलेको थियो। त्यसपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। 

आरोपित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ। आत्मदाह गर्नुअघि उनले बनाएको भिडियोमा आफुले रुबिको हत्या गरेको स्वीकार गरेका छन् । तर हत्या गर्नुको कारण भने रुबिकी आमा भएको आरोप लगाएका छन् ।  

उनले भिडियो सन्देशमा आफूहरूको प्रेमका कारण यो घटना भएको उनको जिकिर छ । रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा आफूहरूको प्रेमविवाह भएको भए पनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानले बताएका छन् ।

 ‘रुबी मरिसकेपछि आफू बाचेर के गर्नु भन्ने लागेको छ । नेपाल प्रहरीलाई मेरो सलाम छ । तपाईंहरूले राम्रो काम गरिरहनु भएको छ,’ उनले भिडियोमा भनेका छन,‘मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ । सजाय भोग्न तयार छु ।’

उनले जारी गरेको भिडियो सन्देशमा राजन, राजु, राजा र रुबीकी आमा यो घटनाका मुख्य दोषी रहेको दाबी गरेका छन् । उनकी आमाले पैसाको प्रलोभनमा परेर आफ्नी छोरीलाई तीनैजना केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोपसमेत लगाएका छन् ।

“रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ,” उनले भिडियोमा भनेका छन्। साथै, पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको भन्दै उसलाई दोष नदिन पासवानले आग्रह गरेका छन्।

उनको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । लक्ष्मणसँग भागेर विवाह गरेपछि रुबीको परिवारले उनको भारतीय केटासँग विवाह गराइदिएका थिए । भारतको मजफ्फरपुरका स्थानीय निवासी शिवसागर साहसँग रुबीको विवाह भएको थियो ।

हत्या भएको राति आफू दुवैजना मर्ने निधो गरेको लक्ष्मणले जारी गरेको भिडियोमा उल्लेख रहेको छ ।

उनले आफूले कसरी रुबीको हत्या गरे भन्ने कुरा नखुलाए पनि अब आफू पनि बाँच्न नचाहेको र अबको केही बेरमै आफूले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको जनाएका थिए । आफू गरिब रहेको र रुबीकी आमाले आफूसँग रुबीलाई बस्न नदिएको र अरू हुने खाने धनीमानीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ ।

गत शनिवार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको सुई पासवानतर्फ गएपछि उनी फरार थिए। आत्मदाह अघि उनले भिडियोमार्फत आफू र रुबीबिच लामो समय कुराकानी भएको र दुवैजनाले मर्ने निर्णय गरेको पनि बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर