काठमाडौंमा मात्रै जले १०४२ सरकारी गाडी, सबैभन्दा धेरै सडक विभागका

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा काठमाडौंमा मात्रै एक हजार ४२ वटा सरकारी गाडीमा आगजनी भएको छ ।

प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् ।
प्राप्त तथ्यांकअनुसार सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारी साधनहरू नष्ट भएका छन् ।

त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा चारपांग्रे गाडी नष्ट भएका छन् ।

यसैगरी शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन् ।

आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ ।

भदौ २३ गते भएको जेनजी युवाहरूको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जना युवाको ज्यान गएको थियो । त्यसपछि २४ गते भड्किएको मास आगजनी र तोडफोडमा उत्रिएको थियो ।

आन्दोलन व्यक्ति तथा सरकारी कार्यालय केन्द्रित हुँदा अधिकांश सरकारी संरचना ध्वस्त भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर