सीके राउतको जनमतमा लफडाः मधेशका मुख्यमन्त्रीलाई कारबाही गर्ने तयारी

काठमाडौं । मधेश केन्द्रीत नयाँ दल जनमतमा अहिले अचम्मको अवस्था सृजना भएको छ । अध्यक्ष सीके राउतले आफ्नो पार्टी नेतृत्वको सरकार छोडेको बताएर मुख्यमन्त्री लगायतलाई पछि हट्न भने तर मुख्यमन्त्री पछि नहट्दा अन्योल र अराजकताको अवस्था सृजना भएको छ ।
अध्यक्षकाे निर्देशन नमानेकाे भन्दै मुख्यमन्त्री सतीशकुमार सिंहलाई कारबाही गर्न पार्टीमा सिफारिस गरिएको छ । अनुशासन पालना नगरेको भन्दै बिहीबार कारबाही गर्न पार्टीमा सिफारिस गरिएको मधेश प्रदेश संसदीय दलका नेता महे प्रसाद यादवले बताए ।
पार्टीले फिर्ता बोलाउँदा पनि राजीनामा नदिएकाले अनुसान पालना नगरेको सन्दर्भमा कारबाही सिफारिस गरिएको उनले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री सिंहलाई राजीनामा नदिएको विषयमा पार्टीले २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको थियो । त्यसमा पनि मुख्यमन्त्री सिंहले जवाफ नदिएपछि कारबाहीको सिफारिस गरिएको हो ।
जेन–जी आन्दोलनको दोस्रो दिन मुख्यमन्त्री सिंहले फेसबुकबाटै राजीनामा दिने घोषणा गरेका थिए । तर प्रदेशसभा विघटन नभएपछि पद नछोड्ने अडानमा छन् । मुख्यमन्त्री पदमै बसी प्रदेशसभामा विश्वासको मत लिँने अडानमा छन् । जनमत पार्टी फुटको संघारमा समेत रहेको हुनाले मुख्यमन्त्री अहिले राजिनामा दिन मानेका छैनन् ।
जनमत पार्टीले गएको शनिबार प्रदेश प्रमुखलाई र मंगलबार प्रदेशसभामा मुख्यमन्त्रीसहित मन्त्रीलाई फिर्ता बोलाएको पत्र पठाएको थियो ।
प्रतिकृया दिनुहोस