जेनजी आन्दोलनमा बीमा कम्पनीमा साढे २३ अर्बको दावी पेश: जलाईय १९ अर्बको घर, साढे तीन अर्बको गाडी 

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्षति उपर बीमा कम्पनीहरुमा दावी पर्ने सिलसिला बढ्दो छ । हालसम्म झन्डै साढे २३ अर्बको दावी पेश भएको नेपाल बीमा प्राधिकरणको प्रारम्भिक तथ्याङ्क छ ।

जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा व्यापाक तोडफोड तथा आगजनी भएको थियो । धेरै गाडी तथा अन्य भौतिक संरचना जलेर नष्ट भएका छन् । सोही क्षति उपर अहिले निर्जीवन बीमा कम्पनीहरुमा दावी पर्ने क्रम बढ्दो छ ।

प्राधिकरणले उपलब्ध गराएको असोज ८ गतेसम्मको विवरण अनुसार बीमा कम्पनीहरुमा २३ अर्ब ३९ करोड २७ लाख १० हजार रुपैयाँ बराबरको २ हजार ९८८ वटा दावी पेश भएका छन् ।

दावी विवरणका आधारमा सबैभन्दा ठुलो क्षति निजी तथा सार्वजनिक सम्पत्तिहरुमा भएको छ । सम्पत्ति बीमालेख अन्तर्गत १९ अर्ब ३ करोड २८ लाख रुपैयाँ बराबरको दावी पेश भएको प्राधिकरणले जनाएको छ । यस्तो बीमालेख अन्तर्गतका ५९४ वटा दावी परेको हो ।

दावी संख्याको आधारमा भने मोटर बीमामा धेरै देखिन्छ । मोटर बीमालेख अन्तर्गत ३ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको २ हजार २०९ वटा दावी पेश भएको देखिन्छ ।

प्राधिकरणका अनुसार इन्जिनियरिङ्ग तथा ठेक्का जोखिम बीमालेख अन्तर्गत ३४ करोड ७२ लाख रुपैयाँ बराबरको १४४ वटा दावी परेको छ ।

यस्तै, परिवहन बीमा अन्तर्गत १ करोड ५५ लाख र अन्य बीमालेख अन्तर्गत ३४ करोड ६६ लाख रुपैयाँ बराबरको ३० वटा दावी परेको छ ।

प्रारम्भिक विवरण अनुसार सबैभन्दा ठुलो आकारको दावी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । सिद्धार्थमा ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको ३०७ वटा दावी पेश भएका छन् ।

दोस्रो ठुलो ओरियण्टल इन्स्योरेन्समा पनि ५ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको ८६ वटा दावी परेको देखिन्छ ।

यस्तै, आइजीआई प्रुडेन्सियलमा २ अर्ब ७९ करोड ६६ लाख, शिखरमा २ अर्ब ३९ करोड १३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख, हिमालयन एभरेष्टमा १ अर्ब २३ करोड ७८ लाख, नेकोमा १ अर्ब १२ करोड ४३ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनीमा ९० करोड ६८ लाख, सानिमा जिआइसीमा ८४ करोड ४४ लाख, युनाइटेड अजोडको ५३ करोड २० लाख, एनएलजी इन्स्योरेन्समा ५१ करोड, नेपाल इन्स्योरेन्समा ४८ करोड २ लाख, प्रभूमा २० करोड ४९ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

यता, नेशनल इन्स्योरेन्समा पनि ६ करोड ८९ लाख, प्रोटेक्टिभ माइक्रोमा १ करोड १५ लाख, स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ४४ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा पनि ४१ लाख रुपैयाँ बराबरको दावी परेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर