ढोरपाटन नगरपालिका-का सामुदायिक विद्यालय अन्तर्गत विद्या विकासले एस ई ई मा धेरै प्रतिसत उतीर्ण बनाउन सफल

बागलुङ। बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत पर्ने भौगोलिक र जनसङ्ख्याका हिसाबले सबैभन्दा ठूलो वडा, ढोरपाटन नगरपालिका–६ गाडिखोला को एकमात्र माध्यमिक विद्यालय श्री विद्या विकास माविले यस वर्षको SEE परीक्षामा  (९६.५५%)नगरकै उत्कृष्ट नतिजा ल्याई आफ्नो ऐतिहासिक साख पुनः स्थापित गरेको छ। वि.सं. २०१९ सालमा स्थापना भएको यो विद्यालय यस क्षेत्रको शैक्षिक धरोहर मानिन्छ। वि.सं. २०७४ सालमा माध्यमिक तह (SEE) को मान्यता पाएको पहिलो वर्षमै जिल्लाकै उत्कृष्ट १० विद्यालयको सूचीमा पर्न सफल भई इतिहास रचेको यस विद्यालयले बीचका केही वर्ष प्रशासनिक अन्योल र नेतृत्वको अभाव झेल्नुपरेको थियो। तर, प्रधानाध्यापक भीम कुमारी भण्डारी थापाको दृढ नेतृत्वले विद्यालयलाई फेरि सोही उचाइमा पुर्‍याएको छ।

२०७९ जेष्ठमा प्रधानाध्यापकको कार्यभार सम्हालेकी थापाले राजनीतिक प्रतिशोध, व्यक्तिगत स्वार्थ र चरित्र हत्या जस्ता अनेकौँ घेराबन्दीको सामना गर्नुपर्‍यो। उनलाई असफल बनाउन अख्तियारसम्म पुर्‍याउने षडयन्त्र भए पनि सत्यको अगाडि ती सबै प्रयासहरू फिका सावित भएका छन्। गत वर्ष नै आफ्नो जेठो सन्तान सन्तान गुमाएको पीडालाई शक्तिमा बदलेर उनले २०८२को एस. ई.ई २९ जना विद्यार्थीको भविष्यलाई आफ्नो एकमात्र लक्ष्य बनाइन्। दुर्गम भूगोलका कारण बिहान-बेलुकी पैदल आउजाउ गर्न असुरक्षित महसुस गर्ने विद्यार्थीका लागि आफ्नै तलब खर्चेर र सरकारी बजेटको मुख नताकी विद्यालय कै कक्षाकोठालाई 'अस्थायी होस्टेल' सञ्चालन गरेर उनले एउटा आमाको ममता र कुशल नेतृत्वको नमुना पेश गरिन्।

यस वर्षको SEE मा सहभागी २९ मध्ये २८ जना विद्यार्थी उत्तीर्ण भई ९६.५५ प्रतिशत नतिजाका साथ विद्यालय नगरपालिकाका ११ सामुदायिक विद्यालयमध्ये प्रथम भएको छ। मध्यरातसम्म आफैँ जागै बसेर विद्यार्थीको पहरेदारी गर्ने र बिहान ४ बजेदेखि शैक्षिक सुधारमा खटिने प्रधानाध्यापकको समर्पणले नै विद्यालयको धमिलिएको विरासतलाई पुनः उजिल्याएको हो। यो सफलता केवल एउटा विद्यालयको मात्र नभई दुर्गम क्षेत्रमा 'शिक्षाको राजनीति' गर्नेहरूका विरुद्ध एउटी दृढ  महिला कमान्डर र इमानदार नेतृत्वको विजय गाथा पनि हो।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर