शशांकले भने– कांग्रेस फुट्याे

काठमाडाैं । सभापति गगन थापा इतरपक्षका कांग्रेस नेता डा. शशांक कोइरालाले सर्वोच्च अदालतले कांग्रेस पार्टी फुटाएको टिप्पणी गरेका छन् ।

संस्थापन इतरपक्षले पोखरामा शनिबार गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘गगन थापाजीको ग्रुप थिएन, तैपनि फुट्यो । यो आश्चर्यजनक कुरा हो । किन फुट्यो भन्दा यो सर्वोच्च अदालतले फुटायो ।’

भेलामा कांग्रेस नेता मोहन बस्नेतले वडा सभापतिहरूलाई कारबाही नगर्न केन्द्रीय सभापति गगन थापालाई चेतावनी दिएका छन् ।

‘तपाईंले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई हटाउनुभएको छ, अलग्गै गर्नुभएको छ, यदि तपाईंले भनेको नमानेबापत । उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्ति गर्न थाल्नुभयो भने, कृपया गगनजी ती सबै मान्छे सानेपा आएर तपाईंलाई पार्टी कार्यालयबाट निकाल्नेछन् । त्यसमा हामी साथ दिन्छौँ,’ बस्नेतले भने ।

संस्थापन इतरपक्षको गण्डकी भेलाले १५ जेठसम्म नेताहरूले निकास ननिकाले महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्ने निर्णय गरेको छ ।

भेलाले प्रतिशोधपूर्ण ढंगले राष्ट्रिय सभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौला र भ्रातृसंस्था केन्द्रीय समिति विघटन गरेको भन्दै भेलाले विरोध गरेको छ । पार्टीभित्र अन्यायपूर्ण गतिविधि सञ्चालन नगर्न र भ्रातृसंस्थालाई तदर्थवादका रूपमा मात्र सञ्चालन गर्ने परिपाटीको अन्त्य गर्न आग्रह गर्ने निर्णय भेलाले गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर