लफडा भएपछि हर्क साम्पाङले जानकी मन्दीर दर्शन गर्न पाएनन्
जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई जनकपुरधामस्थित जानकी मन्दिर भ्रमणका क्रममा आइतबार तनाव उत्पन्न भएको छ।
हिन्दू सम्राट सेनाको विरोधपछि मन्दिर परिसरमा धकेलाधकेलको अवस्था सिर्जना भएपछि साम्पाङले दर्शन नगरी फर्किनुपरेको प्रहरीले जनाएको छ।
साम्पाङ आज बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम थियो। तर, उनी मन्दिर पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच मन्दिर परिसरमा धकेलाधकेल भएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडपको अवस्था देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न रोकिएको हो ।
हर्क साम्पाङले नै यसबारे बाेलेका छन् । उनले फेसबुकमा लेखेका छन्, 'जानकी मनदीर परिषरमा हाम्रा श्रमदाताहरुलाई दुर्व्यवहार भएछ ! त्यसैले मनदीर दर्शन गर्न नसक्ने भैयो आज ! कुनै दिन जानकी देवीले दर्शन दिनुहोला !'
हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो । सोही घोषणापछि मन्दिर क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
विवाद चर्किन थालेपछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाएको जनाएको छ । घटनापछि मन्दिर क्षेत्रमा केहीबेर सुरक्षा सतर्कता बढाइएको थियो।
घटनाबारे हर्क साम्पाङले तत्कालै फेसबुकमा प्रतिक्रिया दिँदै जनकपुरमा तनाव तर गृहमन्त्रीको फोन अफ भने प्रतिक्रिया दिएको छ ।







प्रतिकृया दिनुहोस