सर्वसाधारणका लागि खुला गरिँदैछ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग
काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चाँडै सर्वसाधारणका लागि खुला हुँदै छ । साउन दोस्रो साता उद्घाटन भएको सो सुरुङमार्ग अहिले एम्बुलेन्सलगायतका आकस्मिक तथा आपत्कालीन सवारीका लागि मात्र खुला गरिएको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले अहिले दैनिक १५० देखि २०० सम्म आकस्मिक तथा आपत्कालीन सवारीसाधन सुरुङमार्ग भएर ओहोरदोहोर गर्ने गरेको जानकारी दिए । त्यस्ता सवारीसाधनलाई निःशुल्क रूपमा ओहोरदोहोर गर्न दिइएको छ ।
अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपत्कालीन अभ्यास बाँकी रहेको बताउँदै उनले भने, “सुरुङलाई सर्वसाधारणका लागि खुला गर्ने आवश्यक तयारी अन्तर्गतै सुरुङमार्गभित्र आपत्कालीन उद्धार अभ्यास (मक्क ड्रिल) सम्पन्न भएको छ । आयोजना अन्तर्गत रहेका आपत्कालीन उद्धार समूह (इमर्जेन्सी रेस्पन्स ग्रुप) ले सफलतापूर्वक उद्धार अभ्यास सम्पन्न गरेका हुन् । यस समूहमा काठमाडौँ महानगरपालिका, चन्द्रगिरि नगरपालिका, युद्ध वारुणयन्त्र, सशस्त्र प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको डिजास्टर समूह रहेका छन् ।”
सुरुङमार्गभित्र आगो लागेको अवस्थामा कसरी निभाउने भन्ने विषयमा अभ्यास गरिएको बताउँदै उनले यात्रुले खचाखच भरिएका बसमा आगो लागेको अवस्थामा कसरी आगो निभाउने, यात्रुको उद्धार कसरी गर्नेलगायतको विषयमा थप अध्ययन भइरहेको उनले जानकारी दिए ।
यसपछि सुरुङमार्ग सञ्चालनको जिम्मा लिएका कम्पनीले ‘सुरुङमार्ग सञ्चालन योजना’ पेस गर्छन् । त्यसको अध्ययन गर्छौं र स्वीकृत भएपछि चरणबद्ध रूपमा सुरुङमार्ग सर्वसाधारणका लागि व्यावसायिक रूपमा खुला हुने छ । सुरुको चरणमा साना गाडीलाई सुरुङभित्र सीमित गतिमा ओहोरदोहोरको स्वीकृति दिइने छ । कुनै कारणवश सुरुङभित्र ठुला सवारीसाधन दुर्घटना भएको अवस्थामा त्यसको उद्धार गर्ने अभ्यास नभएकाले सुरुमा साना सवारीसाधनलाई सुरुङभित्र प्रवेशको अनुमति दिने उनले स्पष्ट पारे ।
आगामी सोमबारदेखि साना सवारीसाधनलाई सुरुङमार्गभित्र ओहोरदोहोरको अनुमति दिने गरी तयारी भइरहेको उपनिर्देशक ई. पन्थीले जानकारी दिए ।
पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरू तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहबिच साउनको दोस्रो साता सो सुरुङमार्ग उद्घाटन गरिएको थियो । नागढुङ्गा सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको यातायात प्रणालीमा क्रान्तिकारी परिवर्तन आउनुका साथै यसले यात्राको समय र दुरी घटाउने, इन्धन खपत कम गर्ने, ढुवानी लागत घटाउने तथा व्यापारिक गतिविधि विस्तार गरी समग्र राष्ट्रिय अर्थतन्त्र र सडक पूर्वाधारको आधुनिकीकरणमा दीर्घकालीन तथा दूरगामी योगदान पुग्ने विश्वास गरिएको छ ।
यस आयोजना अन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर (२६८८ मिटर) लामो छ भने आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । सवारीसाधनको प्रकार हेरेर ६० देखि ६०० रुपियाँसम्म शुल्क तिर्नपर्ने निर्णय यसअघि नै मन्त्रीपरिषद्ले गरिसकेको छ ।
नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनका लागि ६० देखि ६०० रुपियाँसम्म सडक उपभोग दस्तुर (टोल फी) तोकेको छ । सुरुङमार्गमा काठमाडौँ प्रवेश गर्दा (भित्रँदा) र काठमाडौँबाट बाहिरिँदा फरक फरक शुल्क निर्धारण गरिएको छ ।






प्रतिकृया दिनुहोस