गोर्खा भर्ति खुलाउन माग गरेपछि के भने भारतीय सेना प्रमुखले ?
पोखरा । नेपालको चारदिने भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठसँग भूतपूर्व सैनिकहरूले गोर्खा भर्ती खुलाउन माग गरेका छन् । पोखरामा रहेको पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रमपछिको संवादमा अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गजबहादुर थापाले गोर्खा भर्ती पुनः खुलाउन पहल गर्न आग्रह गरे ।
‘गोर्खा भर्तीबारे आवाज उठाइरहेका छौं, तपाईंहरूले पनि कुरा गर्नुपर्छ,’ उनले भारतीय सेनाध्यक्षसँग यो प्रस्ताव राख्दा अरू भूपू सैनिकले ताली बजाएर समर्थन जनाएका थिए । ‘नियमित भर्ती खोल्नुपर्छ भनेर हामीले पनि यहाँ गोर्खा ब्रिगेडबाट दबाब दिएका छौं । हामी लडिरहेका छौं, नेपाल र भारतको सम्बन्ध मैत्रीपूर्ण हुन्छ, चलिरहन्छ,’ उनले भने ।
तर, भारतीय सेनाध्यक्ष जनरल धीरज सेठले अग्निपथ योजनाअन्तर्गत फेरि भर्ती खुलाउने विषयमा ठोस जवाफ दिएनन् । चारदिने नेपाल भ्रमण सकेर बुधबार भारत फर्किनुअघि काठमाडौंमा गरेको उच्चस्तरीय भेटवार्तामा समेत यो विषयले प्रवेश पाएन । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटमा मंगलबार दुई देशबीचको सम्बन्धबारे औपचारिक कुराकानी भयो तर अग्निपथको विषयले प्रवेश पाएन ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार, प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको भेटमा समेत दुई देशबीचको सैनिक सम्बन्ध विस्तार, संयुक्त तालिम र सैन्य अभ्यास आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको प्रमुख विषय मानार्थ महारथीको सम्मान ग्रहण गर्नु थियो । ‘त्यसपछि दुई देशबीचको सेनाको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ,’ सैनिक प्रवक्ता बस्नेतले भने ।
भारतीय सेनामा सन् २०२० देखि नै नेपालीको भर्ती रोकिएको थियो । त्यसबेला कोभिड १९ भाइरसको महामारी देखाउँदै भर्ती रोकिएको थियो भने २०२१ मा समेत भर्ती खुलाइएन । पछि भारतले १४ जुन २०२२ मा चारवर्षे सेवा अवधि हुने भन्दै सैनिक भर्तीमा अग्निपथ योजना ल्याएको थियो ।
‘अग्निवीर’ नाम दिएर १७ देखि २३ वर्षसम्मका युवालाई छोटो अवधिका लागि भर्ती गर्ने योजनाको भारतमै व्यापक विरोध भयो । सैनिक तलब भत्तामा जाने आर्थिक भार कटौतीका लागि भन्दै भारत सरकारले ल्याएको यो योजनाअनुसार काम गर्ने अग्निवीरले चार वर्षपछि भारु १२ लाख रुपैयाँ पाउने भनिएको थियो । नेपालसँग समन्वयबिनै नेपालबाट भर्ती हुनेको हकमा समेत सोही योजना लागू हुने भनिएपछि नेपाली पक्षले असहमति जनाएको थियो ।
खासगरी भारतमा अग्निपथ योजनाअन्तर्गत स्वास्थ्य, उपचार र पेन्सन सुविधा नपाउने हुँदा विरोध प्रदर्शन भएको थियो । त्यही बीचमा छोटो समयका लागि भर्ना भएर दक्ष जनशक्ति स्वदेश फर्किंदा सुरक्षा चुनौती थपिन सक्ने विश्लेषण गरिएको थियो । र, शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालका लागि गोर्खा भर्ती रोकेको थियो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, जनरल सेठको भ्रमणका एजेन्डाहरू दुई देशका अधिकारीहरू सम्मिलित बाइल्याटरल एग्रिमेन्ट अन सेक्युरिटी इस्युज (पीसीजीएसआई) समूहले तय गरेको थियो । पीसीजीएसआईमा दुवै देशका परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरूसँगै उच्च सैनिक अधिकृतहरू सहभागी हुने गर्छन् । तर, त्यसमा अग्निपथको विषय समावेश नभएको अधिकारीहरूको भनाइ छ । यदि उच्चस्तरीय संवादमा यो विषयले प्रवेश पाए के जवाफ दिने भन्ने विषयमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले तयारी गरेका थिए । तर, त्यसबारे कुनै छलफल नभएको अधिकारीहरूको भनाइ छ ।
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष धीरज सेठसँग फोटो खिचाउँदै अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघका पदाधिकारी तथा सदस्यहरु ।
भारतीय सेनाध्यक्ष सेठको नेपाल भ्रमणको एक साताअघि पूर्वगोर्खा सैनिकले भर्ती खोल्न माग गर्दै देशका ६ प्रमुख सहरमा स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । पोखरामा भारतीय भूपू गोर्खा ब्रिगेडको नेतृत्वमा भूपू सैनिक, उनीहरूको परिवार र भर्ती हुन चाहने युवाहरू प्रदर्शनमा नै उत्रिएका थिए । पोखरा रंगशालाबाट सुरु भएको र्याली सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय पुगेको थियो । ज्ञापनपत्र बुझाएर नेपाल सरकारलाई दबाब दिएका भूतपूर्व सैनिकले सेनाध्यक्ष सेठ पोखरा आएको अवसर छोपेर भर्ती खोल्न कूटनीतिक पहलका लागि आग्रह गर्ने मौका पाएका थिए ।
भारतीय सेनामा नेपाली युवाको भर्तीको इतिहास दुई सय वर्षभन्दा लामो छ । ब्रिटिस भारतले नेपालसँग शान्ति सम्झौता भएपछि सन् १८१५ देखि नेपाली युवालाई सेनामा भर्ती गर्न थालेको थियो । त्यसअघि बेलायत र नेपालबीच हिमाचल प्रदेशदेखि सिक्किमसम्मको क्षेत्रमा एंग्लो–नेपाल युद्ध भएको थियो । समय क्रममा गोर्खा सैनिक भारत–नेपाल सम्बन्धको महत्त्वपूर्ण कडीका रूपमा स्थापित भए । भारतीय सेनामा सेवा गरेका गोर्खाहरूले युद्ध तथा सैन्य अभियानमा मात्र होइन, अवकाशपछि नेपाल र भारतका विभिन्न सामाजिक क्षेत्रमा पनि योगदान पुर्याउँदै आएका छन् ।
हाल करिब ३६ हजार नेपाली गोर्खा सैनिक भारतीय सेनामा कार्यरत रहेको बताइन्छ । त्यस्तै, नेपालमा करिब १ लाख २५ हजार पूर्वभारतीय गोर्खा सैनिक रहेको अनुमान छ ।






प्रतिकृया दिनुहोस