भदौ १२- १४ गते '८३ सालको गाईजात्रा' प्रज्ञा–प्रतिष्ठानमा
काठमाडौं । नेपाली समाजमा गाईजात्राले बोकेको हास्य–व्यङ्ग्य, सामाजिक चेतना र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै ब्राण्डवर्थ प्रालिले यस वर्ष पनि “८३ सालको गाईजात्रा” कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा यही भदौ १२, १३ र १४ गते आयोजना हुनेछ ।
नेपालका चर्चित हास्य व्यङ्ग्य कलाकारहरूको सहभागितामा आयोजना हुने कार्यक्रममा समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा दैनिक जनजीवनका विषयलाई हास्य र व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरिनेछ ।
कार्यक्रममा बरिष्ठ हास्य व्यङ्ग्य कलाकार मनोज गजरेल, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, चक्र दवाडी, सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा र सीता न्यौपानेको प्रस्तुती रहनेछ । यस्तै, सरोज घिमिरे, आशीष खनाल माडसाब, कल्पना खतिवडा, प्रकृति गिरी, सन्देश सुवेदी, स्मारिका फुयाँल, टीकाराम आचार्य, नारायण कडरिया र पुष्पराज भट्टराईले पनि प्रस्तुती दिनेछन् । कार्यक्रमको मुख्य प्रायोजक केएनपी नेरोलेक पेन्ट्स् रहेको छ ।
कार्यक्रममा कलाकारहरूले वर्तमान राजनीतिक परिस्थिति, सामाजिक प्रवृत्ति, प्रविधि तथा सामाजिक सञ्जालको प्रभाव, जनताका दैनिक समस्या र पछिल्लो समय चर्चामा रहेका विभिन्न घटनालाई आफ्नै मौलिक शैलीमा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नेछन् ।
गाईजात्रा कार्यक्रम संस्कृतिको संरक्षण गर्ने व्यङ्ग्यको चाड भएकोले बर्षेनी कार्यक्रम गरी उत्सव मनाउने गरिएको कलाकार मनोज गजुरेलले बताउनुभयो । यो पटकको कार्यक्रममा युवापुस्ताको उल्लेख्य सहभागिता भएको प्रविधिको अत्यधिक प्रयोग हुने उहाँको भनाई छ ।
नेपाली हास्य–व्यङ्ग्यको मौलिक परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने, कलाकार र दर्शकबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने तथा समाजका समसामयिक विषयमाथि मनोरञ्जनात्मक ढंगबाट संवाद सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले बताए ।
“८३ सालको गाईजात्रा” मा हास्य प्रहसन, व्यङ्ग्यात्मक प्रस्तुति, प्यारोडी, गीत–संगीत तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू समावेश रहनेछन् । फरक पुस्ताका कलाकारहरूको सहभागिताले कार्यक्रमलाई अझ विविध र रोचक बनाउने अपेक्षा गरिएको छ ।







प्रतिकृया दिनुहोस