अस्ट्रेलियाले ल्याएकाे नयाँ अध्यागमन नीतिले नेपालीलाई के असर गर्छ?

काठमाडाैं । अस्ट्रेलियाले आफ्नो अध्यागमन नीतिमा व्यापक परिवर्तन गरेको छ । अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले समग्र आप्रवासी संख्या घटाउने, विद्यार्थी भिसामा भइरहेको अनियमिततालाई रोक्ने, दक्ष कामदारलाई प्राथमिकता दिनेलगायतका परिवर्तनको घोषणा गरेका हुन् । 

नयाँ अध्यागमन नीति अनुसार अबदेखि उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीले श्रीमान् वा श्रीमतीसँगै ल्याउन पाउने छैनन् । अध्ययनका लागि आउने विद्यार्थी एक्लै आउनुपर्नेछ । यसमा विद्यावारिधी गर्न आउने विद्यार्थीलाई भने छुट दिइएको छ । यसैगरी प्यासिफिक र दक्षिण पूर्वी एसिएन मुलकबाट आउने विद्यार्थीले समेत छुट पाउनेछन् । बर्कले सार्वजनिक गरेको नीतिअनुसार अस्ट्रेलियामै (अनसोर) रहेका विद्यार्थी र उनीहरूका पार्टनरलाई भने यो नियम लागु हुने छैन् । 

विद्यार्थीले ब्याचलरबाट मास्टर्स अध्ययन गर्नका लागि भिसा आवेदन दिए पनि आफूले अहिले अध्ययन गरिरहेको तहबाट तल्लो तहमा अध्ययनका लागि भिसा आवेदन दिने क्रमलाई निरुत्साहित गरिएको छ । 

यसैगरी भिजिटर भिसामा आउनेलाई थप बस्न नमिल्ने व्यवस्था राखेर भिसा प्रदान गरिने भएको छ । जसले अस्ट्रेलिया आइसकेपछि अन्य भिसामा परिवर्तन गर्ने सम्भावनाको अन्त्य गर्नेछ । भिजिटर भिसामा आएर अन्य भिसामा आवेदन दिइपछि उक्त आवेदन ब्रिजिङ भिसामा परिवर्तन हुने र निर्णय नहुन्जेलसम्म अस्ट्रेलियामै रहने प्रवृत्तिलाई अन्त्य गर्न भिजिटर भिसामा ‘नो फर्दर स्टे’ वा सीमित समयपछि बस्न नमिल्ने व्यवस्था गर्न लागिएको हो । 
 
अस्ट्रेलियाले आफ्नो वार्षिक आप्रवासीको संख्यालाई सन् २०२८ सम्ममा ३ लाखबाट घटाएर २ लाख २५ हजार बनाउने लक्ष्य राखेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर