१० लाख घुस डिल गर्ने नापीका अधिकृत काे हुन्?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजार, ३ नम्बर नापी टोली माछापोखरीका नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध १० लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल फाइल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन तथा छुट जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै वलीले सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी परेको थियो ।

उक्त सूचनाका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थिय ।

अनुसन्धानका क्रममा वलीले छुट जग्गा दर्तासम्बन्धी मिसिल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने र काममा सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १० लाख रुपैयाँ माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १० लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।

आज विशेष अदालत, काठमाडौंमा वलीविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर