नेकपा नेतृत्वको सरकारको बजेटका विरुद्ध मतदान गर्ने एमाले सांसदलाई कारबाही

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सामाजिक विकास समितिका सभापतिसमेत रहेका एमाले सांसद धर्मराज पाठकले ह्यीप उल्लंघन गरेपछि संसदीय दलले कारबाही गरेको छ । संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले सांसद पाठकलाई समितिको सदस्यबाटसमेत फिर्ता बोलाइएको पत्र बुधबार सभामुख भीमबहादुर भण्डारीसमक्ष बुझाइ सकेका छन् । 

मंगलबार प्रदेश सभाको बैठकमा चालु आर्थिक वर्षको बजेटमाथि छलफल तथा पारित गर्ने दिन संसदीय दलले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको थियो । सांसद पाठक ह्वीप उल्लंघन गर्दै बैठकमा अनुपस्थित भएका थिए । उनी समानुपातिक सांसद हुन् । 

एमालेकै अर्का सांसद वीरबहादुर थापाले सभामुखसमक्ष मंगलबार राजीनामा पत्र बुझाइसकेका छन् । थापा पनि मंगलबार दलको ह्वीप उल्लंघन गर्दै बैठकमा अनुपस्थित भएका थिए । 

एमाले वर्तमान प्रदेश सरकाको सत्ता साझेदार दल हो । मुख्यमन्त्री नेकपाका खगराज भट्ट छन् । बजेटप्रति असन्तुष्टि जनाउँदै दुवैजनाले संसदीय दलमा विद्रोह गरेका हुन् । सांसद थापाले बेथितिप्रति लाचार भएर बस्नु भन्दा राजीनामा दिनु उपयुक्त ठानेको बताए । सांसद पाठकलेसमेत बजेटमा बेथिति भइरहेको भन्दै असन्तुष्टि सार्वजनिक गर्दै आएका थिए ।

तीन महिना बजेट शून्यतापछि मंगलबार प्रदेशको बजेट पारित भएको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर