ठमेलमात्र होइन काठमाडौँ नै २४ घण्टा खुलाउने तयारी  

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख ईश्वरीप्रसाद पौडेलले ठमेलमात्र नभई काठमाडौँलाई २४ घण्टा खुलाउनेबारे जिल्ला प्रशासन कार्यालयले तयारी गरिरहेको बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्ले आज यहाँ आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’मा उनले ठमेलमात्र नभई काठमाडौँलाई नै २४ घण्टा सञ्चालन गर्नेगरी अध्ययन र तयारी भइरहेको बताए।

“काठमाडौँलाई २४ सै घण्टा सञ्चालन गर्नेबारे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको छ,”–उनले भने । उनले ठमेललाई पर्यटकीय हव बनाउन सरकार लागेको भन्दै यसलाई साथ दिन सबैलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय गैरकानूनी गतिविधी बढेको भन्दै चिन्ता व्यक्त गरे । घरधनी र व्यवसायीले इमान्दारपूर्वक ढङ्गले व्यवसाय गरे ठमेलभित्रको विकृति अन्त्य हुने उनको भनाई थियो । उनले महिनाको एकदिन ठमेलका बारेमा जिल्ला प्रशासनमा बैठक बसेर यहाँभित्रका समस्याबारे छलफल गर्नुपर्ने बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ठमेलभित्रको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालयले काम गरिरहेको बताए ।

काठमाडौँ महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठले ठमेल क्षेत्रको विकासका लागि स्थानीय सरकार सदैव तयार रहेको बताए । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेल क्षेत्रको पर्यटन विकासका लागि सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा ठमेल क्षेत्रभित्रका घरधनी तथा व्यवसायीले रातको १ बजेपछि ठमेलभित्र आवतजावत गर्न नसकिने, रातको समयमा जथाभावी रुपमा माधकपदार्थ सेवन गर्ने तथा बाटोमा फोहोर गर्ने, दिउँसै लागूपदार्थको कारोबार हुने, जथाभावी सवारीसाधन पार्किङ गर्नेलगायतका समस्या भएकाले यसको समाधानमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर