राेकियाे विद्युत निर्यालः दैनिक साढे १३ करोड गुम्दै

काठमाडौं । नेपालले विद्युत व्यापारमा दैनिक साढे १३ करोड गुमाउन थालेकाे छ । भारत र बंगलादेशसँगको मध्यकालीन सम्झौता अवधि सकिए पनि नवीकरणका लागि समयमै पहल नहुँदा नेपालबाट ती देशमा विद्युत् निर्यात रोकिएको हाे । भारतमा करिब ६ सय ९ र बंगलादेशमा ४० गरी कुल ६ सय ४९ मेगावाट निर्यात हुँदै आएको थियो । निर्यात रोकिँदा नेपालले दैनिक १३ करोड ५८ लाख २३ हजार रुपैयाँ बराबरको सम्भावित आम्दानी गुमाइरहेको छ ।

भारतका तीन राज्यमा बिजुली निर्यात हुँदै आएकामा गत १४ कात्तिकमा म्याद सकिएको हो । नेपाल विद्युत् प्राधिकरणले हरेक वर्ष मध्यकालीन सम्झौताको निर्यात अवधि सकिएपछि भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा रूपान्तरण गरी बिजुली निर्यात गर्दै आएको थियो । तर यस वर्ष भारतले मध्यकालीन सम्झौताको उक्त बिजुली आईएक्समार्फत निर्यात गर्न अझै अनुमति दिएको छैन ।

हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेश निर्यात हुने थप ४० मेगावाट बिजुलीको अवधि पनि आइतबार सकिएसँगै निर्यात रोकिएको छ ।आईएक्समा रूपान्तरण गर्न गत अगस्टमै प्रस्ताव पठाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । द्विपक्षीय सम्झौताअनुसार हरियाणामा ४ सय ४ मेगावाट तथा उत्तर प्रदेश र बिहारमा गरी २ सय ५ मेगावाट (कुल ६ सय ९ मेगावाट) बिजुली निर्यात हुँदै आएको थियो । करिब तीन महिना बितिसक्दा पनि भारतीय पक्षबाट स्वीकृति नआएको श्रेष्ठले जनाए ।

हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेश निर्यात हुने थप ४० मेगावाट बिजुलीको अवधि पनि आइतबार सकिएसँगै निर्यात रोकिएको छ । 

भारतमा विद्युत् निर्यात गर्दा प्रतियुनिट औसत ५.४५ भारतीय रुपैयाँ प्राप्त हुने आधारमा दैनिक ८ करोड ४८ लाख ८९ हजार २ सय भारु (नेपाली करिब १३ करोड ५८ लाख २३ हजार रुपैयाँ) आम्दानी गुम्ने देखिएको हो ।

भारत र बंगलादेशमा गरी अहिलेसम्म १ हजार १ सय ६९ मेगावाट बिजुली निर्यात अनुमति छ, त्यसमा मध्यकालीन सम्झौताअनुसार ६ सय ४९ मेगावाट र आईएक्समार्फत ५ सय २१ मेगावाट निर्यात अनुमति छ, ६ सय ४९ मेगावाटलाई आईएक्समा रूपान्तरण गर्दा नेपालमा बढी उत्पादन भएका बेला निर्यात गर्न सहज हुन्छ ।

प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत् आईएक्सको डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा, बिहार र उत्तर प्रदेश राज्यमा समेत विद्युत् निर्यात हुँदै आएको छ ।

अक्टोबरमा निर्यात अनुमतिको म्याद सकिने जानकारी हुँदाहुँदै पनि यसलाई भारतीय ऊर्जा एक्सचेन्जको डे–अहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणको उच्च नेतृत्वबाट समयमै प्रभावकारी पहल नभएका कारण यो अवस्था आएको प्राधिकरणकै एक अधिकारीको दाबी छ । तर मध्यकालीन सम्झौताअनुरूपको ६ सय ४९ मेगावाट बिजुली आईएक्समार्फत निर्यात गर्न पाउने सुविधामा रूपान्तरण गरिदिन अगस्टमै पत्र पठाइसकिएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

प्राधिकरणका अनुसार अहिले २ हजार ६ सयदेखि २ हजार ७ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । आन्तरिक माग २ हजार २ सयदेखि २ हजार ३ सय मेगावाट हाराहारीमा छ । छठ पर्वसम्म उद्योग पूर्ण रूपमा नचल्दा खपत कम भएको र अतिरिक्त विद्युत् व्यवस्थापन गर्न नसक्दा ठूलो आम्दानी गुम्ने अवस्था सिर्जना भएको हो ।

बिजुली खेर नभई प्रणालीको सुरक्षाका लागि करिब २ देखि ३ सय मेगावाट जगेडा (रिजर्भ) मा राख्नुपर्ने भएकाले उपलब्ध सबै बिजुली निर्यात गर्न नमिल्ने कार्यकारी निर्देशक श्रेष्ठले बताए । तामाकोशीजस्ता ठूला आयोजना अचानक बन्द हुँदा आन्तरिक आपूर्तिमा असर नपरोस् भन्नाका लागि यो जगेडा अनिवार्य हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर