सुदूर पहाडमा बिसु पर्वको रौनक

बैतडी । आज नयाँ वर्र्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ ।

बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ । देवर–भाउजु, नन्द–भाउजु र साली–भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा रहेको संस्कृतिका जानकार जयानन्द भट्टको भनाइ छ ।

हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुशीयालीस्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ ।

पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ । सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातोमाटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ । विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन् ।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बिसु पर्व विषेशः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बढी मनाइने गरिन्छ । पहाडबाट बसाइँ सर्ने क्रम बढेसँगै तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर