सालमुनि ‘हाइड्रो पावर’ को काम अन्तिमचरणमा, झण्डै ८० करोड खर्च

डोटी । बडिकेदार गाउँपालिका–९ विपीनगरस्थित कापडी गाडमा निर्माणाधिन सालमुनि हाइड्रो पावरको काम अन्तिमचरणमा पुगेको छ । उक्त विद्युत् पावर हाउसको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट छ । करीब एक अर्बको लगानीमा निर्माणाधिन सो विद्युत् गृहमा अहिलेसम्म करीब रु ८० करोड खर्च भएको विद्युत् आयोजनाका टनेल ईन्चार्ज मीन पोख्रेलले बताए ।

उनले भने, “ सबै काम अन्तिम चरणमा पुगेको छ, आशा गरांै तोकिएकै समयमा काम सकिने छ ।” सनमानदेवी हाइड्रो पावर तथा स्वयम्भू कन्ट्रक्सनले सो आयोजनाको निर्माणकार्य थालेको हो । यही वैशाख अन्तिम सम्ममा  निर्माणकार्य सक्ने लक्ष्यअनुसार उक्त विद्युत् गृहको काम तीव्र गतिमा भइरहेको छ । विद्युतगृहको भवन बनिसकेको छ ।

हाल सो विद्युतगृहको एक हजार २०० मिटर सुरुङ खन्ने कार्य सकिएको छ । स्वयम्भू कन्ट्रक्सन र नेपाल सरकारबीच उक्त सालमुनी हाईड्रोपावरबाट उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रशासरण लाइनमा जोड्ने र पछि नेपाल सरकारले नै उक्त विद्युत् आवश्यक क्षेत्रमा बिक्री वितरण गर्ने सम्झौता भएको छ । सम्झौतानुसार ३० वर्षसम्म उक्त विद्युत् बिक्रीबाट आएको रकम निर्माण गर्ने कम्पनीले लिने छ । 

टनेल इन्चार्ज पोख्रेलले भने, “शुरुमा रु ८०÷९० करोड लाग्ने सोचेपनि अहिले एक अर्ब नै लाग्ने देखिएको छ, काम निर्धा्रित समयमै गर्छौँ ।” विद्युत् उत्पादन हुने भएपछि  स्थानीयवासी निकै खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उनले भने, “बत्ती नभएर अध्यारो भएको हाम्रो ठाउँमा केही समयमै झिलिमिली हुने भयो हामी त्यसैमा खुशी छौं ।”

गाउमै रोजगारी पाएपछि कामका लागि भारत जानेक्रममा केही कमी आएको  स्थानीय लोकेन्द्रबहादुर छेडालले बताउनुभयो । उनले भने “विद्युत् निर्माणले सबैलाई खुशीनै बनाएको छ, घरको खाना खाएर काम गर्न जान्छन्, रोजगारी मिलेको छ,यो भन्दा अरु के नै चाहियो । ”उक्त क्षेत्रमा विद्युत् आपूर्तिका लागि सव स्टेशन धमाधम निर्माण भइरहेको छ । 

पुल बनेपछि सहज

शिखरनगरपालिका १ गेरुपानीमा नयाँ झोलङ्गे पुल निर्माण भएपछि यहाँको दिपायल सिलगढी नगरपालिका– ३ बाँफी गाउँका सयौँ स्थानीयवासीका दुःखका दिन हटेका छन् । विगतको समयमा पुल नहुँदा दैनिक आफ्नो घर जान ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका स्थानीय पुल बनेपछि निकै खुशी भएका छन् ।

 उक्त गाउँमा जान गतवर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरी समूहगाढको गेरुपानी नजिक केही दिन पहिले झोलुङ्गे फुल निर्माण गरिएपछि यहाँका स्थानीयलाई घर जान सहज भएको हो । पुल बनेपछि ज्यान जोखिमबाट मुक्ति मिलेको स्थानीय रामबहादुर साउले बताए ।

उनले भने, “पुल नहुँदा सेती नदीमा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य थियौँ, कतिको त बगेर ज्यान गइसक्यो अब केही बग्ने छैनन् ।” जिल्ला समन्वय समितिको पहलमा उक्त क्षेत्रमा झोलुङ्गे पुल बनेपछि अहिले बाँफी, कैलडालगायतका स्थानीयवासीलाई आवतजावतमा सजिलो भएको हो । 

 प्रायः साउदहरुको बढी जनसङ्ख्या भएको ती गाउँमा करीब २०० घरधुरी रहेका छन् । उक्त गाउँका स्थानीयले सामान्य घरखर्चको सामान किन्न पनि नजिकैको कालागाढ बजारमा आउनुपर्छ । उक्त बजारमा आउन स्थानीय महिला, केटाकेटी लगायतले टयुबको भरमा यात्रा गर्ने गरेका थिए । उक्त गाउँमा पुलको समस्या समाधान भए पनि अन्य पूर्वाधारसहित खानेपानी, शिक्षा, स्वास्थ र यातायातको पहुँचबाट पनि निकै टाढा रहेको स्थानीयवासी बताउछन् । 

उता दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बाँफी गाउँका स्थानीयलाई आवतजावतमा सहज होस् भन्नका लागि पुल निर्माण गरिएको र अन्य विकासका काम क्रमिक रुपमा अगाडि बढाइने योजना रहेको बताए । 

उनले भने, “ पुल बनायौं बाँकी समस्या धेरै छन्, क्रमिकरुपमा विकास गर्दै जानेछौँ ।” पुलःनिर्माणसँगै उक्त गाउँका किसानले फलाएका तरकारी, दूध, दहीलगायतका अन्य वस्तु बिक्रीका लागि यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, कालागाढ, समूहगाढ, कुल्पाते, राजपुरलगायतका ठाउँमा पु¥याउन स्थानीयलाई निकै सहज भएको कालागाढका व्यापारी रामसिंह कार्कीले बताए । बजारमा आफूले फलाएका चिज बिक्री गर्न थालेपछि त्यहाँका किसानको आयआर्जन पनि बढेको बाँफी गाउँका स्थानीय तथा कानून व्यवसायी कैलास साउदले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर