प्रदेश प्रहरीका लागि खरिद गरिएका गाडी थन्किँदै

बजेट खर्च देखाउन हतारमा गत आवमै गाडी खरिद

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हतारमा प्रदेश प्रहरी गठन नहुँदै प्रदेश प्रहरीका लागि गाडी खरिद गरेको छ ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका प्रदेश प्रहरीका लागि भन्दै नौवटा गाडी खरिद गरेको छ । तर, मन्त्रालयले अहिले खरिद गरेका गाडी भने प्रदेश प्रहरी गठन नहुँदासम्म थन्किने भएका छन् ।

यसअघि कानुन मन्त्रालयले पछि प्रदेश प्रहरीलाई प्रयोग गर्न दिइने गरी अहिले संघअन्तर्गत रहेको प्रहरीलाई ती गाडी हस्तान्तरण गरिने जनाएको थियो । जुन कार्य कानुनविपरित भएको भन्दै त्यसबेला प्रतिपक्ष दलले पनि विरोध जनाएको थियो ।

प्रदेश प्रहरी गठन नहँदै नियमविपरीत संघीय प्रहरीका लागि गाडी खरिद गर्ने तयारीअनुसार अहिले गाडी खरिद गरिए पनि मन्त्रालय सो निर्णयबाट पछि हटेको छ । मन्त्रालयले प्रदेश प्रहरी गठन भएपछि मात्र अहिले खरिद गरिएका गाडी हस्तान्तरण गर्ने तयारी गरेको छ ।

गत आर्थिक वर्षको बजेट खर्च बढेको देखाउनकै लागि मन्त्रालयले यसअघि तत्कालका लागि संघीय प्रहरीले नै प्रयोग गर्ने भनेर गाडी खरिद गरेको बुझिएको छ । जुन निर्णय अहिले कानुन मन्त्रालय आफैं कार्यान्वयन नगर्ने पक्षमा छ । यद्यपि, त्यसबेला मन्त्रालयले गाडी खरिदका लागि बोलपत्र आह्वानको सूचनामा कुन प्रयोजनका लागि गाडी खरिद गरिँदै छ भन्ने विषयमा खुलाएको थिएन ।

मन्त्रीस्तरीय निर्णयले भने प्रदेशका नौवटै जिल्लामा रहेका प्रदेश प्रहरी एकाइलाई हस्तान्तरण गर्ने गरी गाडी खरिद गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नै मन्त्रालयले गाडी खरिद गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव भरतकुमार बुढाथोकीले कानुनी अड्चनका कारण अहिले खरिद गरिएका गाडी तत्काल प्रहरीलाई दिन नसकने बताए । उनले अहिले नै प्रदेश प्रहरी गठन नभइसकेको अवस्थामा संघीय सरकार मातहत रहेको प्रहरीलाई गाडी हस्तान्तरण गर्न नमिल्ने बताए । 

सचिव बुढाथोकीले पछि प्रदेश प्रहरीलाई दिइने गरी अहिले संघीय प्रहरीका लागि भनेर गाडी खरिद गरे पनि कानुनी रूपमा त्यो गर्न नमिल्ने बताए । 

यसअघि गाडी खरिदको प्रक्रिया सुरु गर्दा सचिव बुढाथोकीले भनेका थिए, ‘मन्त्रालयले गाडी किन्न हतारो गरेको होइन, सबै प्रदेशले गाडी खरिद गर्न लागिसके,’ उनले भने, ‘पछि प्रहरी प्रदेशमा आउने नै हो भनेर मन्त्रालयले प्रहरीका लागि गाडी किन्ने तयारी गरेको हो ।’ तर, अहिले मन्त्रालय आफैं त्यो निर्णय कार्यान्वयन नगर्ने पक्षमा देखिएको हो ।

मन्त्रालयले प्रहरीकै लागि भनेर खरिद गरेको नौवटा गाडी प्रदेश प्रहरी गठन नहुँदासम्म सोरुममै थन्किने भएका छन् । कानुन मन्त्रालयले प्रदेश प्रहरीका लागि टाटा कम्पनीका नौवटा गाडी खरिद गरेको छ । जुन गाडी अहिले धनगढीस्थित टाटा कम्पनीकै सोरुममा राखिएको छ ।

मन्त्रालयले प्रतिगाडी ३६ लाख ९९ हजार रुपैयाँका दरले नौवटा गाडी खरिदमा तीन करोड ३२ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ । जुन गाडी डबल क्याब पिकअपका छन् ।

मन्त्रालयले अघिल्लो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा गाडी खरिद गर्ने शीर्षकमा तीन करोड ५७ लाख रकम विनियोजन गरेको मन्त्रालयले जनाएको छ । केन्द्रमा ऐन–नियम बनिसकेपछि मात्र प्रदेशले प्रदेश प्रहरीका लागि नीति निर्देशिका बनाउनेछ । मन्त्रालयका सचिव बुढाथोकीले प्रदेश प्रहरीसम्बन्धी ऐन बनिसकेपछि मात्र प्रदेश प्रहरी गठन गर्ने प्रक्रिया अगाडि बढ्ने बताए ।

यस्तै, प्रहरीको गाडीसँगै मन्त्रालयले कानुनमन्त्री र सचिवका लागि पनि गाडी खरिद गरेको छ । मन्त्रीका लागि निशान कम्पनीको गाडी एक करोड २९ लाख ५० हजार रुपैयाँमा खरिद गरिएको छ । यस्तै, सचिवका लागि ६९ लाखमा महिन्द्रा कम्पनीको गाडी खरिद गरिएको मन्त्रालयका प्रवक्ता लक्षण शाहले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर