तत्कालका लागि रोकियो बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तत्कालका लागि वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को अनुमति दिने प्रक्रिया स्थगित गरेको छ । 

संघीय संसदको अर्थसमितिको निर्देशन अनुसार बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कार्य स्थगित गरिएको नेप्सेले जनाएको छ ।

नेप्से सञ्चालक समितिको भदौ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले अर्थ समितिको पत्र अनुसार सो प्रकृया स्थगित गर्ने निर्णय गरेको हो । साउन ३० गते अर्थ समितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने कार्य तत्कालको लागि स्थगन गर्न नेप्सेलाई निर्देशन दिएको थियो । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डले साउन १७ गते नेप्सेलाई बैकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कार्य अघि बढाउन निर्देशन दिएको थियो । उक्त निर्देशनपश्चात कार्य अघि बढाएको नेप्सेले संसदीय समितिको निर्देशन पछि तत्कालका लागि रोकेको हो ।

अर्थ समितिले वाणिज्य बैंकको सहायक कम्पनीलाई इजाजत दिनुभन्दा अगाडि अनुसन्धान गर्नका लागि सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ । साउन २९ गते गठित समितिमा प्रमिला राई, मेटमणि चौधरी, रामबाबुकुमार यादव र हेमकुमार राई सदस्य रहेका छन । अध्ययनका लागि उपसमितिलाई दुई महिनाको समयमावधि दिईएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर