संविधान दिवसका अवसरमा निजी मेडिकल कलेजमा बहिरङ्ग सेवा निःशुल्क

चितवन । संविधान दिवसका अवसरमा यहाँका निजी मेडिकल कलेजले पनि आज बहिरङ्ग सेवा निःशुल्क गरेका छन् । सरकारले सबै सरकारी अस्पतालमा एक दिनका लागि बहिरङ्ग सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो । जिल्लामा रहेका चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेका हुन् । चितवन मेडिकल कलेजका व्यवस्थापक पारस अधिकारीले बहिरङ्गका विशेष र सामान्य दुवै सेवा निःशुल्क गरिएको बताए । सामान्यमा रु २५ र विशेषमा रु ४०० लिने गरिन्थ्यो । 

उक्त मेडिकल कलेजमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी आउने गरेको उनले जानकारी दिए । यसैगरी कलेज अफ मेडिकल साइन्सेसले पनि बहिरङ्ग सेवा निःशुल्क गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत शुभप्रभात श्रेष्ठका अनुसार सामान्य र विशेष दुवै सेवा निःशुल्क गरिएको हो । दैनिक एक हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने उनले जानकारी दिए । 

यता जिल्लाका सरकारी अस्पताल सबैमा बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार दैनिक एक हजार ९०० सम्म बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । आज झरीको दिन भएकाले केही कम बिरामी हुने अनुमान गरिएको उनले बताए । 

यस्तै यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार दैनिक ७०० हाराहारी बिरामी उक्त अस्पतालमा आउने गर्दछन् । संविधान दिवसलाई विशेषरुपमा मनाउन आजदेखि तीन दिनसम्म जिल्लामा विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

कलेजलाई एक करोड सहयोग 

यहाँको मैयादेवी कन्या कलेजलाई अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड एक हजार १११ सहयोग गर्नुभएको छ । नेपालमा आएको समयमा उनले कलेजका संरक्षक मैयादेवी श्रेष्ठलाई  सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
सो अवसरमा सह–संरक्षक प्रेमकुमार श्रेष्ठ, सञ्चालक समिति अध्यक्ष टङ्कनाथ पौडेल र प्राचार्य भङ्कबहादुर गुरुङ पनि सहभागी थिए ।  

कलेजका अध्यक्ष पौडेलका अनुसार दाता प्रधान नाताले संरक्षक श्रेष्ठका भाइ हुनुहुन्छ । श्रेष्ठकै निवासमा पुगेर प्रधानले सो चेक हस्तान्तरण गर्नुभएको उनले जानकारी दिए । सङ्कलित रकमलाई गरीब र जेहेन्दार विद्यार्थीका लागि  छात्रवृत्ति दिन अक्षयकोष खडा गरिने र सो कोषमा रकम थप गर्दै लगिने अध्यक्ष पौडेलले जानकारी दिए । समाजसेवी श्रेष्ठले स्थापना गरिदिएको सो कलेजमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर