यस वर्ष भारतबाट भित्रिने खसीबोका ५० प्रतिशतले घट्यो

तस्विर : वेब

नवलपरासी । विगतका वर्षहरुको तुलनामा भारतबाट यस वर्ष नेपालमा खसीबोका भित्रिने क्रम निकै घटेको पाइएको छ । नेपाली उत्पादनले राम्रो बजार पाएपछि भारतबाट नेपालमा भित्रिने खसीबोका वार्षिक दरमा यस वर्ष करीब ५० प्रतिशतले कमी आएको हो  । 

पशु सेवा विभागका अनुसार भारतबाट मात्रै वार्षिक रुपमा करीब चारदेखि पाँच लाख खसीबोका नेपाल भित्रिने अघिल्लो वर्षसम्मको तथ्याङ्क छ । तर यस वर्ष सो संख्यामा ५० प्रतिशतभन्दा बढी कमी आएको छ । यस वर्ष हालसम्म करिब २ लाख ३५ हजार खसीबोका भित्रिएको तथ्याङ्क रहेको विभागले जनाएको छ । जुन यो वर्षभरिको तथ्याङ्क हो । 

भारतबाट आयात हुने खसीबोकाको  भन्सार दरसमेत वृद्धि हुनु, स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य हुनुलगायत कारणले भारतबाट नेपालमा हुने आयातमा कमी आएको विभागका सूचना अधिकारी डा चन्द्र ढकाल बताउँछन् । 

नेपालमा वार्षिक एक करोड २० लाख खसीबोका र बाख्रा उत्पादन हुने गर्दछ । जसमध्ये करीब ५० प्रतिशतको हाराहारीमा खसीबोका उत्पादन हुने तथ्याङ्क रहेको कार्यालयले जनाएको छ । 

यसैगरी डोल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले पनि राम्रो बजार पाएका छन् । सो क्षेत्रमा उत्पादन हुने च्याङ्ग्राले काठमाडौं लगायत नेपालका विभिन्न बजारमा राम्रो बजार पाएको पशु सेवा विभागले जनाएको छ । 

स्वदेशी खसीबोका र च्याङ्ग्राले यस वर्ष राम्रो मूल्य पाएपछि किसानसमेत उत्साही भएको पशु सेवा विभागले जनाएको छ ।  जसले गर्दा अब खसीबोका उत्पादनमा नेपाली बजारसक्षम बन्न सक्ने विभागका सूचना अधिकारी डा ढकाल बताउँछन् । 

यस वर्ष दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरेर नेपालमा खसीबोका भित्रिने सङ्ख्या पनि निकै कम छ । दशैँ पर्वलाई लक्षित गरी भारतबाट प्रक्रिया पूरा गरी खसीबोका भित्रिने क्रम अघिल्लो वर्षको तुलनामा यस वर्ष निकै कम रहेको  पशु सेवा विभागले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर