विश्व बैंकको सहायता रकममा वृद्धि गराउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल र प्रतिनिधिमण्डलका अन्य सदस्यहरुले संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी. मा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागिता जनाए ।

विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको स्मरण गर्दै अर्थमन्त्री डा. खतिवडाले सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणनीतिक प्राथमिकताबारे चर्चा गर्नपर्ने बताए । साथै, नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र आम जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्यार्ई गुणस्तरीय जीवन यापन गर्न सक्ने बनाउन बैंकको सहायता राशीमा उल्लेखनीय बृद्धि गर्न जरुरी रहेको उनले बताए ।

बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा। खतिवडाले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाए । 

विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा उच्च प्रशंशा अझै धेरै साझेदारी गर्न बाँकी रहेको बताए ।

नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान प्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंशा गरे । 

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक वैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक वैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा. खतिवडाले यस क्षेत्रको आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहको बताए ।

दक्षिण एसिया क्षेत्रमा सडकको अतिरिक्त हवाई सेवाको सञ्जाल विकास गरी अन्तर आवद्धता बढाउनु जरुरी रहेको बताउँदै उनले यसबाट पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने साथै यसबाट आर्थिक वृद्धिमा परिपुरक भूमिका रहने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर