मोरङका यी चार मेयर : जो सरकारी सुविधा समाजमै खर्चिन्छन्

वाईफाई फ्रि गर्नेदेखि विद्यालय मर्मत र स्वास्थ्य उपचारमा खर्च गर्दै

विराटनगर । स्थानीय तहका जनप्रतिनिधिहरु सुविधाभोगी भएको भन्दै आलोचना भइरहेको बेला मोरङका चार नगरपालिकाका प्रमुखहरु भने सरकारी सुविधा सामाजिक कार्यमा खर्च गरेर उदाहरणीय बनेका छन् । 

स्थानीय तहका जनप्रतिनिधिहरुले उपभोग गर्न पाउने सुविधाहरुको सम्वन्धमा प्रदेश सरकारले कानून बनाएर लागू गरेको छ । विराटनगर महानगरपालिका लगायत चार स्थानीय तहका प्रमुखहरुले लिएको सुविधा सार्वजनिक घोषणा गरेरै सामाजिक कार्यमा खर्चिदै आएका छन् । यसरी आफुले लिएको सेवा सुविधा बापतको रकम सार्वजनिक क्षेत्रमा खर्च गर्नेमा विराटनगर महानरपालिकाका प्रमुख भीम पराजुली, रङ्गेली नगरपालिकाका प्रमुख दिलिप बगडीया, लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो हुन् । उनीहरुले आ–आफ्नै शैली र सोचका आधारमा सरकारी सुविधा बापतको रकम सामाजिक विकासको क्षेत्रमा खर्च गरिरहेका छन् । 

रङ्गेली नगरपालिकाकाका प्रमुख दिलिप बगडीयाले नगरपालिकाबाट प्राप्त भएको २८ महिनादेखिको सुविधा बापतको रकम छुट्टै बैंक खाता खोलेर राखेका छन् । त्यहि रकम खर्च गरर रङ्गेली नगरपालिकालाई वाईफाई फ्रि बनाउने योजनामा काम भइरहेको उहाँले जानकारी दिए । ‘मैले नगरपालिकाबाट प्राप्त गर्ने सबै रकम छुट्टै बैंक खाता खोलेर जम्मा गर्दै आएको छु र अहिलेसम्म एउटा पनि चेक काटेको छैन,’ प्रमुख बगडीयाले भने ‘अहिले नगरभरी फ्रि वाइफाई सेवाकालागि

पूर्वाधारको काम भइरहेको त्यसकालागि हुने सबै खर्च सोही रकमबाट व्यहोर्छु ।’ नगरपालिकाको नौं वटा वडाका १ सय २९ स्थानमा वाइफाई फ्रि जोन बनाउने योजना अनुसार अहिले तार र राउटर राख्ने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार कात्तिक मसान्तसम्म नगरपालिका पूर्णरुपमा वाइफाई फ्रि नगर बन्ने छ । 

पहिलो २८ महिनाको आम्दानी बापतको रकम वाइफाईकालागि आवश्यक पूर्वाधारमा खर्च हुने र त्यसपछिको आम्दानीले वाइफाईका लागि इन्टरनेटको वार्षिक रकम भुक्तानी गर्ने उनले बताएका छन् । ‘अहिलेसम्मको आम्दानीबाट तार, राउटर लगायत आवश्यक पूर्वाधारमा खर्चगर्न पुग्छ होला,’ बगडीयाले भने ‘त्यसपछिको आम्दानीबाट वार्षिक शूल्क भुक्तानी गर्छु वाइफाईकालागि सरकारको कुनै रकम खर्च हुन दिन्न ।’ उनले विभिन्न बैठक, सेमिनार आदिमा सहभागि जनाउँदा प्राप्त भएको भत्ता रकम पनि कर्मचारी मार्फत सोही खातामा जम्मा गर्दै आएका छन् । पारदर्शी र मितव्ययी प्रशासन सञ्चालन गर्दै आउनुभएका बगडीयाले नगरपालिकाको प्रमुख भएपछि दुई पटक शल्याक्रिया गराइसकेका छन् । 

भारतको दिल्लीमा आन्द्रा र हर्नीयाको शल्यक्रिया गराएका उनले नगरपालिकाबाट स्वास्थ्य उपचार वापतक कुनै सुविधा नलिएको बताइएको छ । 

यसरी सुविधा नलिनेमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली पनि हुन् । उनले एक वर्षमा एउटा सामुदायिक विद्यालय सुधारकालागि आफ्नो सेवा सुविधा बापतको रकम खर्च गर्ने योजना अनुसार अहिलेसम्म दुई विद्यालयमा लगानी गरेको बताएका हुन् । पहिलो वर्षको आम्दानी विराटनगर १ स्थित सयपत्री आधारभूत विद्यालयमा खर्च गरेका हुन् । 

विद्यालयको कम्पाउण्ड वाल निर्माण, चौरमा माटो पुर्ने र चुहिने छानो फेर्ने र फलामे गेट लगाउने काम गरेको उनले जानकारी दिए  । ‘पहिलो वर्ष सयपत्री स्कूलको सुधारमा लगानी गरें दोश्रो वर्ष जागृति आधारभूत विद्यालयमा रंगरोगन गर्ने काम भइरहेको छ ,’ प्रमुख पराजुलीले भने ‘शिक्षा मन्त्री गिरीराजमणि पोखरेललेसमेत अनुगमन गर्दा जिर्ण ठहर गर्नुभएकोले त्यसको सुधारमा मैले आफ्नो आम्दानीको केही अंश त्यहाँ खर्च गरेको हुँ ।’ प्रमुख पराजुलीले दुई वर्षमा १२ लाख ८ हजार ९ सय ९२ रुपियाँ आम्दानी भएको र १२ लाख ३७ हजार २ सय २२ रुपियाँ खर्च गरेको पनि बताएका छन् । उनले लक्ष्मीनारायण गुरुकुल संस्कृत विद्यालयलाई १ लाख ११ हजार १ सय ११ रुपियाँ, धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख ११ हजार १ सय ११ रुपियाँ प्रदान गरेका छन् । त्यस्तै विराटगनरका आगलागी पिडीत सिताराम लाल दाशलाई ५० हजार, डिउटीका क्रममा हत्या गरिएका सुरक्षा गार्ड टंक भट्टराईलाई ५० हजार र वरिष्ठ नाटककार राम थापाको नाममा २५ हजार तथा नरसिंहनाथ मन्दिरकालागि २१ हजार रुपियाँ सहयोग उपलव्ध गराएको उनले बताए ।  

यस्तै आफ्नो सेवा सुविधाबाट जनताको उपचारमा खर्च गर्नेमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राई अग्रस्थानमा छन् । उनले विराटनगरको नोवल मेडिकल कलेज र विराट नर्सिङ होममा उपचार खर्च जुटाउन नसकेका आफ्नो नगरका असाहायहरुको रकम तिर्नमा आफ्नो आम्दानीबाट खर्च गरिरहेको बताएका छन् । ‘मैले विराट नर्सिङ होममा मात्र ३ लाख बढी रकम तिरिसकेको छु,’ राईले भने ‘उपचार गराउन जान्छन् खर्च धेरै हुन्छ मेरो नाममा लेखाएर हिडिदिन्छन् तिर्नै पर्छ तिरिरहेको छु ।’ उपचारकालागि आइएमईबाटै ५० हजार भन्दा बढी रकम पठाएको तथा विद्यालय, मन्दिर र अन्य सामाजिक विकासको काममा सुविधा वापतको रकम खर्च गर्ने गरेको उनले बताए । 

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले  स्थानीय बक्राह खोलाका बाँध निर्माण गर्न स्थानीयले लागत साझेदारी गर्न नसकेपछि आफ्नै तर्फबाट ८ लाख ५० हजार रुपियाँ लगानी गरिदिए । उनले लागत साझेदारी जुटाउन नसक्ने उपभोक्ताहरुलाई सेवा सुविधाबाट प्राप्त भएको रकमबाट दिने गरेका छन् । ‘यहाँ त जे गर्दा पनि मुद्दा हालिहाल्छन् भन्न पनि गाह्रो छ,’ प्रमुख फागोले भने ‘अलिअलि त व्यक्तिगत काममा पनि चलाइयो होला तर धेरै रकम उपभोक्ताले लागत साझेदारी जुटाउन नसकेकाहरुलाई रकम दिएर बिकासको काम अघि बढाउन सहयोग गर्दै आएको छु ।’ उनले असाहायहरुको शिक्षा र स्वास्थ्य उपचारमा पनि केही रकम खर्च गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर