बुटवल उद्योग बाणिज्य संघमा कर सचेतना तथा अन्तरक्रिया

बुटवल । बुटवल उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय बुटवलको संयुक्त आयोजनामा सोमबार बुटवलमा कर सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको छ । 

कर सप्ताह २०७६ को अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवलले आईतबार देखि साप्ताहिक कार्यक्रम गर्दै आएको छ । त्यसै अवसरमा सोमबार बुटवल उद्योग बाणिज्य संघसंग संयुक्त कार्यक्रम गरि उद्योगी व्यबसायीलाई कर सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो । 

त्यस अवसरमा उद्योगी व्यबसायीले सरकारले ल्याएको नयाँ कर नीति उद्योगी व्यबसायीलाई अव्यबहारिक भएको बताएका थिए । उद्योगी व्यबसायीले एकद्वार नीति अवलम्बन गर्न आग्रह गर्दै पाईलैपिच्छे कर असुली गर्ने पद्धती गलत भएको भन्दै सुधारकालागि सरकारसंग आग्रह गरेका थिए । 

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुवराज ज्ञवालीले  व्यबसाय मैत्री कर प्रशासनकालागि आफू प्रतिवद्ध रहेको बताए । 

त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सरकारले लिएको कर नीतिले उद्योगी व्यबसायी मारमा परेको औंल्याउँदै सुधारकालागि करको एकद्वार प्रणाली लागु गर्न सुझाव दिए । आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत मञ्जु पोखरेलले कर प्रशासनका प्रकृया, त्यसको समस्या समाधान तथा ढुवानीमा अनलाईन ट्रयाकिङ् प्रणाली तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रकृयाका बारेमा जानकारी गराएकी थिइन । 

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, उपाध्यक्ष हरिप्रसाद अर्याल, सचिव कमलप्रसाद पौडेल, कार्यसमिति सदस्यहरु शुक्रप्रसाद बस्याल, संजय कलवार, प्रकाश श्रेष्ठ, प्रतिक पोखरेल, महिला उद्यमी नमकला वेलवासे, संघका प्लाष्टिक बस्तुगत समितिका सभापति राजेश भट्टराई, कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम हेँजु लगायतले समस्या राख्दै समाधानको लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसै अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवलमा हालै आएका कार्यालय प्रमुख, प्रमुख कर अधिकृत ध्रुवराज ज्ञवालीलाई स्वागत समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर