कञ्चनपुरमा वृद्धवृद्धालाई नेपाली सेनाद्वारा न्यानो लुगा वितरण

कञ्चनपुर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आज न्यानो लुगा वितरण गरेको छ ।

सो अवसरमा सेनाले केन्द्रलाई खाद्य सामग्रीसमेत उपलब्ध गराएको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र देवीदल गण मझगाउँ ब्यारेकले वृद्धाश्रमका ६२ वृद्धवृद्धालाई न्यानो लुगा, चामल, दाल, चिनी, तेललगायत सामग्री वितरण गरेको हो । सेनाले बढ्दै गरेको जाडोलाई ध्यानमा राखी न्यानो लुगा वितरण गरिएको जनाएको छ ।

श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शङ्कर पण्डितले महिला तथा वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सेनाको सहयोग सामग्री प्राप्त गरेपछि अध्यक्ष चन्दले नेपाली सेनाले एक दशकभन्दा बढी समयदेखि वद्धाश्रमलाई सहयोग गर्दै  आएको बताए ।

विसं २०६३ मा सेनाकै सहयोगमा वृद्धाश्रम भवन निर्माण गरिएको हो । वृद्धाश्रम सञ्चालनमा नेपाली सेनाको ठूलो सहयोग रहेको छ । सो अवसरमा सेनाको श्री नं २५ फिएको चिकित्सकसहितको टोलीले वृद्धवद्धाको स्वास्थ्य परीक्षणसमेत गरेको थियो । श्री नंं २५ फिएबाट उपसेनानी डा बबिता सिल्वालसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

खाद्य सामग्री वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रममा सहायकरथी पण्डित, देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यात, श्री नं २५ बाहिनीका सेनानी गोरख पुजारालगायत सैनिक अधिकृतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर