पश्चिम नेपाल बस व्यवसायी प्रालीले टिकट काउण्टरहरुमा यात्रुहरुको तापक्रम मापन गर्ने 

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रालीले आफु मातहत रहेका विभिन्न स्थानका टिकट काउण्टरहरुमा यात्रुहरुको तापक्रम मापन गरेर मात्र टिकट काट्ने भएको छ । 

पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा नफैलियोस् भनी सरकारले विभिन्न सतर्कता अपनाईरहंदा सार्वजनिक यातायातलाई सुरक्षित बनाउंदै संक्रमित व्यक्तिको पहिचान गर्न समेत सहयोग होस् भनी तापक्रम मापन गर्ने व्यवस्था गरिएको प्रालीले जनाएको छ । 

प्रालीले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि आफू मातहत सेवा संचालनमा रहेका सडक खण्डहरुका टिकट बुकिङ काउण्टरहरु बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा उपकरणबाट यात्रुहरुको तापक्रम मापन गर्ने व्यवस्था गरेको जानकारी दिएको हो ।

प्रालीका अध्यक्ष दधिराम खरेलले कोरोना भाईरसको संक्रमणको त्रासको कारण सरकारले बढि भिडभाड हुने कार्यक्रम नगर्न र भिडभाडमा नजान आग्रह गरिहंदा यसको प्रभाव यातायात क्षेत्रमा समेत परेपनि पहिलो काम यात्रुहरुको सुरक्षा गर्नु रहेकोेले तापक्रम लिएर मात्र टिकट काट्ने व्यवस्था गरिएको जानकारी दिए ।

अध्यक्ष खरेलले सबै काउण्टरमा उपकरण ल्याईएको र आफ्नै कर्मचारी मार्फत तापक्रम मापन गरि उनिहरुको अवस्था जानकारी गराउने व्यवस्था गरिएको जानकारी दिए । एकजना संक्रमित बाट सवारी साधनमा रहेका अन्य यात्रुहरुको समेत स्वास्थ्य जोखिममा रहने भएको र सरकारले विभिन्न स्थानमा तापक्रम मापन गर्ने व्यवस्था गरिरहेको अवस्थामा आफुहरुले पनि टिकट काउण्टरहरुबाट शुरुवात गरिएको जानकारी दिए ।

उनले प्रालीले विगतमा महाभुकम्पको बेला उद्धार र राहत संगै विभिन्न समयमा बाढि पहिरोमा परेकाहरुलाई आर्थिक तथा उपभोग्य सामाग्री सहयोग गर्दै आएको स्मरण गर्दै देशलाई अप्ठ्यारो पर्दा व्यवसायीहरु सधै सहयोगीको रुपमा उभिने गरेको बताए । खरेलले बस व्यवसायी प्राली व्यवसायीहरुको हक,हित अधिकारको लागि मात्र नभई सामाजिक सेवामा समेत सधै सक्रिय रहेको उल्लेख गर्दै अहिले विश्वभर फैलिएको कोरोनाको संक्रमण नेपालमा फैलिन नदिन सबै क्षेत्रबाट सहकार्य र सहयोग हुनु आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर