म्याग्दीका सबै तातोपानी कुण्ड बन्दः पर्यटकीयस्थलमा जान रोक

म्याग्दी । कोरोनाको त्रासका कारण प्राकृतिक उपचारस्थल मानिएका म्याग्दीका सातवटा तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । पर्यटकीयस्थल पुनहिल जान रोक लगाइएको छ ।

आजदेखि म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको तातोपानी कुण्ड, धौलागिरि गाउँपालिकाको गुर्जा र मुदी मा रहेका दुई वटा तातोपानी कुण्ड, रघुगङ्गा गाउँपालिकाको दर्मिजामा रहेको तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिकामा रहेका तीन वटा तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिएको सम्बन्धित नगर र गाउँपालिकाका प्रमुखले बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको कार्यालयमा बसेको बैठकले कोरोना भाइरस भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नओउञ्जेलसम्म गाउँपालिकामा पर्ने घोडेपानी, पुनहिलजस्ता विश्व चर्चित पर्यटकीयस्थलमा पर्यटक आवागमनमा समेत रोक लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनका स्वकीय सचिव सुरेन गुरुङले जानकारी दिए ।

त्यसैगरी भुरुङ, पाउद्वार, रातोपानी र दोवाको सेकार्कुमा रहेका तातोपानी कुण्डमा पनि विदेशी पर्यटक आउने भएकाले ती तातोपानी कुण्ड बन्द गराउन शुक्रबार नै पत्राचार गरिएको अन्नपूर्ण गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । कोरोनाको जोखिम हुने भएकाले स्थानीय प्रशासनले सार्वजनिक कार्यक्रमसहित मेला पर्वलगायतका विभिन्न कार्यक्रमसमेत बन्द गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर