कपिलवस्तुका महिलाले प्रहरीलाई चौकीमा थुनिदिए

बटवल । बालिकामाथि यौन दुर्व्यवहार गर्ने किशोरलाई कारबाही नगरी छाडेको भन्दै कपिलवस्तुका महिलाहरुले चौकीमा प्रहरीलाई गुनेर तालाबन्दी गरेका छन् । दुई बालिकालाई यौन दुर्व्यवहार गर्ने किशोरलाई अदालतले रिहा गरेको भन्दै कपिलवस्तुको वाणगंगा नगरपालिका– ४ मा रहेको प्रहरी चौकीमा स्थानीय महिलाले तालाबन्दी गरेका हुन्।

स्थानीय प्रशासनको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएका महिलाले बिहीबार आज वाणगंगा– ४ गजेहडा चौकी घेराउ गर्दै प्रहरीलाई भित्रै राखेर कार्यालयमा तालाबन्दी गरेका हुन्। 

आठ र १० वर्षका दुई  बालिकालाई यौन दुराचार गरेको आरोपमा ४२ वर्षीय पुरुष र १७ वर्षीय किशोर पक्राउ परेका थिए। किशोर कुनै सजायविनै अदालतबाट छुटेपछि पीडित बालिकाका आफन्तसहित स्थानीय महिलाले प्रहरी चौकी घेराउ गरी नाराबाजी गरेका हुन्। 

अनुसार उनीहरूले दुई बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको उजुरी पीडित पक्षले २२ दिनअघि प्रहरीमा दिएका थिए। पीडित बालिकाहरूले पनि आफूलाई अभियुक्तद्वयले यौन दुर्व्यवहार गर्दै आएको बयान प्रहरीसमक्ष दिएका छन्।

स्थानीय महिलाले पीडित बालिकाले न्याय पाउनुपर्ने र दोषीलाई छाड्नु नहुने माग गर्दै नाराबाजी गरेका हुन्। प्रहरीले पीडकबाट रकम लिएर मुद्दा कमजोर बनाएको उनीहरूको आरोप छ। आरोपी किशोरको उमेर १७ वर्ष ६ महिना छ।

जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाएर छाड्न आदेश दिएको आन्दोलनकारी महिलाले बताएका छन्।

अदालतको आदेशअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै पुगेपछि ती बालिका थप असुरक्षित भएको स्थानीयको भनाइ छ।

एक अभियुक्त छुटे पनि अर्कालाई अझै अदालतमा पेस गरिएको छैन। इलाका प्रहरी कार्यालय पिपराले अदालतसमक्ष सरकारी वकिलमार्फत पेस गर्दा उनीहरूलाई जबर्जस्ती करणी गरेको भनेर पेस गरेको थियो।  

महिला अधिकारकर्मी चेतना अधिकारीले प्रहरीले अभियुक्तसँग मिलेमतो गरेर मुद्दा कमजोर बनाएको आरोप लगाइन्। इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले भने पीडितको जाहेरीअनुसार मुद्दा चलाइएको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर