सुदूरपश्चिमवासीको अनुरोध : कोरोना परीक्षणको दायरा बढाइदेऊ

बैतडी । भारतबाट हजारौँको सङ्ख्यामा दिनप्रतिदिन सुदूरपश्चिमेली नागरिक घर फर्किरहेका छन् । तीमध्ये कैयौँ त कोरोना भाइरसको सङ्क्रमण बोकेरै आएका छन् । रोजगारीका लागि भारत गएका उनीहरु महामारीका कारण रोजगारी खोसिएपछि धमाधम घर फर्किरहेका हुन् ।

अहिले भारत विश्वका सबैभन्दा धेरै कोरोना प्रभावित मुलुकहरुमध्ये छैटौँ स्थानमा पर्दछ । तर त्यही देशबाट दिनहूँजसो स्वदेश फर्किरहेका यहाँका नागरिकको परीक्षण भने आरडिटीकै भरमा छ । त्यस्तो प्रभावित देशबाट आएका नागरिकलाई यसरी आरडिटीको भरमा घर पठाउँदा गाउँगाउँमा झनै जोखिम बढेको यहाँका नागरिकको गुनासो छ । त्यसैले यहाँका नागरिकले पिसिआर परीक्षणको दायरा बढाइदिन सरकारसँग आग्रह गरिरहेका छन् ।

सङ्क्रमण बढी भएका मुलुकबाट आएका नागरिकको पिसिआर परीक्षण नगरेर आरडिटीकै भरपर्दा भयावह अवस्था आउनसक्ने जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्रमुख पृथ्वीराज अवस्थीको भनाइ छ । कोरोनाले आतङ्क सिर्जना गरेको छ सरकारले परीक्षण दायरा बढाउनुपर्ने उनले सुझाए । 

‘पिसिआरको दायरा नबढ्दा त यहाँका गाउँघरमा एक किसिमले आतङ्क नै सिर्जना भएको छ, यो परीक्षणको दायरा बढ्दा यसले नागरिकमा ढुक्क हुने वातावरण बन्छ र यदि सङ्क्रमित देखिए भने उनीहरुबाट समाजमा फैलिने सम्भावना कम हुन्छ र सम्बन्धित व्यक्तिले पनि बेलैमा सतर्कता अपनाउन या नियन्त्रणका विधि अपनाएर आइसोलेशनमा बस्न पाउँछ । होइन भने यहाँको अहिलेको महामारीले झनै विकराल रुप लिनसक्छ’, अवस्थीको भनाइ छ ।

यही जेठ २३ गते बैतडीका चारसहित सुदूरपश्चिमका ६ जना कोरोना सङ्क्रमितलाई निको नहुँदै सेती प्रादेशिक अस्पतालले डिस्चार्ज ग¥यो । उनीहरुलाई सिधै घर पठाइएको थियो । कोरोना निको नहुँदै घर पठाएपछि गाउँमा त्रास बढेको छ । शिवनाथ गाउँपालिका–१ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका–२ का २० र २२ वर्षीय पुरुषलाई घर पठाइएको थियो ।

गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीहरुमा यही जेठ १० गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमितलाई सातदिन होम क्वारेन्टिनमा बस्न  भनिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महतले बताए । उनले भने, ‘कोरोना सङ्क्रमितलाई निको नहुँदै घर पठाउँदा गाउँमा त्रास बढेको छ, नागरिक ढुक्कसँग घर बस्न पनि पाएका छैनन् ।’

तर पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका सङ्क्रमितलाई १४ दिन आइसोलेशनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको उनको भनाइ छ । 

सुदूरपश्चिममा हाल ६४ हजारभन्दा बढी नागरिक क्वारेन्टिनमा बसिरहेका छन् । भारतबाट यहाँ दिनहुँ हजारौँको सङ्ख्यामा भित्रिने क्रम अहिले पनि जारी नै छ । बुधबारसम्म सुदूरपश्चिममा १६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लकडाउन शुरु भएको केही दिनमै भारतबाट अवैध बाटो हुँदै भित्रिने क्रम शुरु भएको थियो । तर पछिल्लो समयमा ठूलो सङ्ख्यामा भित्रिन थालेपछि सरकारले पनि हाल सीमा नाकाबाटै उद्धार गर्न थालेपछि यहाँ भारतबाट घर फर्किने स्थानीयवासीको ओइरो लागेको हो । योसँगै पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेमा साँघुरो बनाउन थालिएपछि जोखिम बढेको महसुस यहाँका स्थानीयवासीले गरेका छन् ।  

सुदूरपहाडमा पिसिआर ल्याब स्थापना भएन
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी दुई जिल्ला बैतडी र डोटीमा कोरोना पिसिआर प्रयोगशाला स्थापना गर्ने कार्यको घोषणा गरेको थियो तर पनि काम भने अगाडि बढ्न सकेको छैन । गत चैत १५ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले बैतडीसहित डोटी र कैलालीमा कोरोनाका सम्भावित बिरामीको नमूना परीक्षणका लागि प्रयोगशाला ९ल्याब० स्थापना गर्ने निर्णय गरेको थियो ।  प्रयोगशाला स्थापना नहुँदा पिसिआर परीक्षणका लागि धनगढी पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पिसिआर परीक्षण गर्नुपर्ने भए पनि जिल्लामा प्रयोगशाला नहुँदा समस्या भएको डा जोशीले बताए ।

जिल्लामै प्रयोगशाला भएको भए धनगढी पठाउनुपर्ने थिएन र परीक्षण पनि तीव्ररुपमा गर्न सकिन्थ्यो प्रमुख डा जोशीले भने, ‘कोरोना सङ्क्रमण देखिएपछि थप ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सम्पर्कमा आएका अरु थपको पनि परीक्षण गर्न प्रगोगशाला नहुँदा ढिलाइ भयो, यसले थप अन्योल बढाएको छ ।’

स्वाब सङ्कलन गरेर धनगढी पठाउँदा कुनै रिपोर्ट आउन एक हप्ता पनि लाग्ने गरेको जिल्ला अस्पताल बैतडीले जनाएको छ । सङ्कलित नमूनालाई ७२ घण्टाभित्र परीक्षण गर्न सकेमा विश्वसनीय र सही रिपोर्ट आउने सम्भावना धेरै हुने गर्छ । तर सुदूरपश्चिममा भने एउटामात्र कोरोना परीक्षण प्रयोगशाला हुँदा सङ्कलित नमूनाले लामो समयसम्म परीक्षण नहुने समस्या देखिएको छ ।

कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययनसमेत गरेको थियो । सम्भाव्यता अध्ययन भएको एक महिनाभन्दा बढी भइसकेको भए पनि प्रयोगशाला स्थापनाका लागि कुनै तयारी भएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्रको टोलीले गत वैशाख ५ गते जिल्ला अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको थियो । त्यसपछि प्रयोगशाला स्थापनाका विषयमा प्रदेश सरकारबाट कुनै निर्देशन प्राप्त नभएको जिल्ला अस्पतालका प्रमुख डा जोशीले जानकारी दिए । प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य स्वास्थ्य जाँचका लागि समेत सजिलो हुने विश्वास छ ।  

यता प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने स्थापना गर्ने भनेका प्रयोगशालाका लागि उपकरण खरिदको प्रक्रिया शुरु भइसकेको बताउँदै केही समय लाग्नसक्ने जानकारी दिए ।

क्वारेन्टिनमै आठजनाले ज्यान गुमाए
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी बैतडीका तीन, बाजुरा, डडेल्धुरामा दुई÷दुई र  डोटीका एकजना रहेका छन् ।

सातजनाको यही जेठमा मृत्यु भएको हो भने एकजनाको वैशाख २० गते मृत्यु भएको हो । मृत्यु हुने सबै भारतबाट फर्किएका हुन् । मृतकमध्ये बाजुराकी बालिकामा मात्रै कोरोना पुष्टि भएको छ । अन्य सातजनाको रिपोर्ट नेगेटिभ आएको छ ।  

बाजुराकी बालिकासहित सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पनि दुई पुगेको छ । गत शुक्रबार पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएकी धनगढी–४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । क्वारेन्टिनमा मृत्यु हुने अधिकांश दीर्घरोगी हुने गरेका चिकित्सकले बताएका छन् । दीर्घरोगीले घर तथा अस्पतालको जस्तो हेरचाह र खानपिन क्वारेन्टिनमा नपाउने हुनाले मृत्यु भएको हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीको भनाइ छ । 

उनले भने, ‘उनीहरु उच्च रक्तचाप, मधुमेह, एलर्जी, दम, बाथ आदि रोगका बिरामीलाई हेरचाह र खानपिन राम्रो नहुँदा पनि मृत्यु भएको हुन सक्छ । धेरैमा पहिलेदेखिकै समस्या देखिएकाले यहाँको बसाइँको अप्ठ्यारोका कारण मृत्यु भएको देखिन्छ ।’  

उपयुक्त स्थानमा व्यवस्थित क्वारेन्टिन नहुँदा पनि रोगसँग लड्नसक्ने क्षमता कम भएका व्यक्तिको मृत्यु हुन सक्ने डा जोशीको भनाइ छ । वातावरण ओसिलो भएको ठाउँमा दमका रोगी बसे भने एक्कासि समस्या हुन सक्ने उनले बताए । 

तर उनीहरुको मृत्युबारे अध्ययन नगरी भन्न नसकिने पनि उनले बताए । क्वारेन्टिनमा मृत्यु हुने कारण भने कोरोनाको डर त्रास पनि रहेको कतिपयको भनाइ छ । तर क्वारेन्टिनमा सबै मृत्युलाई कोरोनासँग जोड्न नहुने बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीको भनाइ छ । ‘मान्छे मर्दै मर्दैन भन्ने होइन । सबै मृत्युलाई कोरोनासँग जोड्न पनि हुँदैन’, उनले भने, ‘अनावश्यक भय, डर र त्रासले पनि समस्या सिर्जना गरेको छ ।” क्वारेन्टिनमा मृत्यु भएकाको मृत्युको कारण खोजी गर्नुपर्नेमा उहाँको जोड रहेको छ । 

हाल सुदूरपश्चिममा भारतबाट फर्किएका ६४ हजारभन्दा बढी नागरिक क्वारेन्टिनमा बसिरहेका छन् । क्वारेन्टिन व्यवस्थित नहुँदा तथा कोरोना परीक्षण नहुँदा यहाँ बस्ने व्यक्तिहरु तनाबमा देखिन्छन् । गत बिहीबार आरडिटी पोजेटिभ आएका बैतडीको दोगडाकेदार–७ घर भई दोगडाकेदार–३ श्रीकोटमा आइसोलेशनमा बसेका दामोदर भट्टले हालसम्म पनि स्वाब सङ्कलन नगरिँदा तनाब थपिएको बताए । उनले भने, ‘समयमै परीक्षण नगरिँदा मनमा चिन्ता लागेको छ, स्वाब सङ्कलन नै गरेका छैनन् अब त्यो कहिले गर्ने र कहिले रिपोर्ट आएर ढुक्क हुन पाउने ?’

कोरोना परीक्षणको दायरा बढाउनुपर्ने अवस्थामा प्रदेश स्वास्थ्य निर्देशनालयले भने गत शुक्रबारदेखि पाँच दिनसम्म स्वाब सङ्कलन नै बन्द गर्यो । निर्देशनालयले  सुदूरपश्चिमको धनगढीमा रहेको एकमात्र प्रयोगशालामा नमूनाको मौज्दात एक हजारभन्दा बढी रहेको भन्दै स्वाब सङ्कलन बन्द गरिएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए । उनले भने, ‘जनशक्तिको हिसाबले एक दिनमा बढीमा २५० मात्रै परीक्षण हुन्छ, सङ्कलन भएको नमूना धेरै दिन रह्यो भने बिग्रने र रिपोर्ट सही नआउने हुन्छ, त्यसैले रोकिएको हो ।’

बुधबारदेखि स्वाब सङ्कलन पुनः थालिए पनि प्रयोगशालामा अझै एक हजार ६०० नमूना मौज्दात रहेको निर्देशक डा अवस्थीले जानकारी दिए । उनले एकमात्र प्रयोगशाला हुँदा प्रदेशभरकै परीक्षण गर्न निकै समस्या भएको अनुभव सुनाए ।

समयमै रिपोर्ट नआउँदा क्वारेन्टिन बसाइ लम्बियो
बैतडीका ४०० भन्दा बढी नागरिकको क्वारेन्टिनमा बसाइ लम्बिएको छ । सुदूरपश्चिममा पाँच दिन स्वाब सङ्कलन कार्य रोकिएपछि आरडिटी पोजेटिभ देखिएका नागरिक क्वारेन्टिनमै बस्न बाध्य भएका हुन् । जिल्लाका विभिन्न क्वारेन्टिनमा बसेका ४००  नागरिकको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई १४ दिनपछि पनि क्वारेन्टिनमै राखिएको छ । 

जिल्लाको शिवनाथ गाउँपालिकाका १०० भन्दा बढी नागरिक क्वारेन्टिनको अवधि पूरा भएको भने पनि बस्न बाध्य छन् । आरडिटी पोजेटिभ देखिएकाहरुले पनि छिटो स्वाब सङ्कलन गरेर परीक्षण गर्न माग गरेका छन् । क्वारेन्टिनमा बसेका नागरिकमध्ये आरडिटी पोजेटिभ देखिएकाहरुको स्वाब सङ्कलन र पिसिआर रिपोर्ट नआउँदा क्वारेन्टिन व्यवस्थापनमा समेत समस्या देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महतले बताए ।

क्वारेन्टिनमा बसेका नागरिकको स्वाब सङ्कलन रोकिएपछि उनीहरु आक्रोशितसमेत भएका थिए । आरडिटी पोजेटिभ देखिएकाहरु मानसिकरुपमा समेत समस्याग्रस्त हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताउनुभयो । उनीहरुको छिटो स्वाब सङ्कलन गरेर कोरोना परीक्षण गरिनुपर्नेमा उनले जोड दिए ।

क्वारेन्टिन व्यवस्थापनमा चुनौती
सुदूरपश्चिममा भारतबाट फर्केका नागरिकलाई क्वारेन्टिनमा व्यवस्थापन गर्न चुनौती देखिन थालेको छ । पछिल्लो समयमा भारतबाट फर्कनेहरु दिनदिनै बढ्दै गएपछि क्वारेन्टिनको व्यवस्थापनमा चुनौती देखिएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशी बताए । प्रदेशका ८८ वटै स्थानीय तहका क्वारेन्टिनमा भारतबाट फर्केका नागरिकको सङ्ख्या बढ्दै गएको हो ।

यहाँका स्थानीय तहमा बनाइएका क्वारेन्टिन व्यवस्थित नहुँदा अस्तव्यस्त हुन थालेका जोशीको भनाइ छ । धेरैजसो क्वारेन्टिन विद्यालयमा बनाइएका छन् । सबै विद्यालयमा खानेपानी र शौचालयको उचित व्यवस्था छैन । यसका साथै खान र बस्नका लागिसमेत समस्या भएको क्वारेन्टिनमा बस्ने नागरिकको गुनासो रहेको छ । एकै विद्यालयमा ८८ जना क्वारेन्टिनमा बसिरहेको र खानेपानी र शौचालयको निकै समस्या भएको मेलौली नगरपालिका–७ का किशोर कार्कीले बताए । भारतबाट फर्केपछि क्वारेन्टिनको बसाइ निकै असहज भइरहेको कार्कीको भनाइ छ ।

क्वारेन्टिनमा बस्ने नागरिक बढ्दै गएपछि अस्तव्यस्त हुन थालेको बैतडीको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महतले बताए । उनले भने, ‘पछिल्लो समय जिल्लामा भारतबाट फर्किने नागरिकको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टिनको व्यवस्थापनमा पनि चुनौती देखिएको छ ।’

पाटन नगरपालिकाका क्वारेन्टिनमा पनि खानेपानी र शौचालयकै समस्या छ । विद्यालयमा एक दुईमात्रै शौचालय हुने र ती पनि पानीको अभावमा प्रयोगमा सास्ती भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । समयमै पिसिआर परीक्षण नहुँदा भीडभाड बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टको भनाइ छ । 

आरडिटी पोजेटिभ आएका नागरिकको स्वाब सङ्कलन गरेर पठाइएको तर रिपोर्ट नआउँदा आरडिटी नेगेटिभ आएकाहरुलाई पनि घर पठाउन समस्या भइरहेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए ।

-रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर