बैतडीमा एक महीनामा स्क्रब टाइफसका ४९ जना बिरामी भेटिए

बैतडी। बैतडीमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए। 

दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ।

यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक महिला, पञ्चेश्वर गाउँपालिकामा एक पुरुष तथा सिगास गाउँपालिकामा एक महिलामा स्क्रब टाइफस देखिएको छ। 

जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरूमा उपचारका लागि पुगेका व्यक्तिहरूको परीक्षण गर्दा स्क्रब टाइफस देखिएको जोशीले बताए। गत आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको संक्रमण पाइएको थियो। यो वर्ष भने एक महीनाकै अवधिमा ४९ जनामा यो रोगका संक्रमित फेला परेका हुन्। 

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्। झाडी,  भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

यस्तै जिल्लामा डेंगुका बिरामी पनि भेटिन थालेका छन्। दशरथचन्द नगरपालिकाका दुई महिला र एक पुरुषमा डेंगु संक्रमित भेटिका स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर