केरा खेतीमा दुख कृषकको नाफामा बिचौलिया

चितवन। पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको तीन रूपैयाँ हाराहारीमा बिक्री गर्छिन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा १० सम्ममा किन्ने गरेकी छिन्। 

उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन्। अधिकारीले भनिन्, “आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने थियो।” 

अर्का कृषक लक्ष्मण सुवेदी पनि बिचौलियाको मारमा परेको गुनासो गर्छन्। उनी भन्छन्, “मण्डी, खुद्रा व्यापारी हुँदै उपभोक्तामा पुग्दा धेरै महँगो भएपछि मैले फार्मबाट पनि खुद्रा बेच्न थालेँ ।” चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घानाथ महतो केरा बारीबाट प्रतिकोसा डेढदेखि चार रुपैयाँसम्ममा बिक्री हुने गरेको भए पनि उपभोक्ताले दोब्बरभन्दा बढी तिरेर किन्नुपर्ने बाध्यता रहेको बताउँछन्। 

“जमानादेखि हामीले पीडा पोख्दै आएका छौँ । कसले सुनिदिने”, उनले भने, “दुःख कृषकको तर नाफा बिचौलियालाई मात्र भयो।” जिल्लामा केराखेती गर्ने कृषकको संख्या ७०० रहेको छ। तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ।  एक बिघामा केराखेती गर्न करिब चार लाख खर्च हुन्छ। एक बिघामा एक हजार ६०० बोट लगाइन्छ। एउटा बोटमा ८० देखि १०० कोसा केरा फल्छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर