• शनिबार १०-३-२०७७/Saturday 01-16-2021/ 11:48 am

पश्चिम तराइमा माघीको रौनक सुरु 

धनगढी ।  पश्चिम तराइका थारु समुदायमा माघीको रौनक सुरु भएको छ । यो तराईका थारुहरूले मनाइने विशेष तथा थारु पर्वहरू मध्यको सबैभन्दा ठूलो पर्व हो र थारुहरूको नयाँ बर्ष पनि हो। पश्चिम तराइ बाहेक देशभरका अन्य थारुहरूले पनि यस  पर्वलाई विशेष पर्व तथा  माघी पर्व माघ १ गते मनाउँछन् । सुदूरपश्चिमी थारुहरूले यस पर्वलाई माघी अर्थात् कर्का ट्योह्वार भनेर मान्ने गरेको कञ्चनपुर शुक्लाफाटाका सुमन चौधरीले जानकारी दिए । ‘यो साल हामी थारु संवत् २६४४ मनाउँदै छौँ’ उनले भने ।

यसरी मनाइन्छ माघी 
थारु समुदायका मानिसहरू पुस महिना भरी माघीको तयारीमा जुटेका हुन्छन् । यो बेला विभिन्न थारु परिकारहरू बनाउने खानको लागी सालको पातले बनाइएका दुना (दोन्या),बनाउने र जाँड,ढिक्री बनाउन प्रयोग हुने चामलको पिठो, मुला तथा बयरको अचार बनाउन व्यस्त रहेको उनले बताए । ‘चेलीबेटी इष्टमित्र सबैलाई माघी पर्व मनाउन घर बोलाउने कार्य सबै पुस महिनामै सक्काउँछौँ’उनले भने । ‘महिनाको अन्तिम दिन जुन माघीको तयारी चरणको अन्तिम दिन हुन्छ त्यस दिन गाउँघरमा पुरुषले सुँगुर मारेर घर घर सुँगुरको मासु भित्र्याउने कार्य गर्दछौँ’ । त्यस दिन घरपरिवारका महिला सदस्यहरूले साग तरकारी तथा खानका परिकारहरू बनाउने तरखर गर्ने सुमनले बताए । पुसको अन्तिम रात गाउँघरका महिलाहरू आ–आफ्नै घरमा ढिक्री,मासुका परिकार र अन्य तरकारी तथा अचार चटनीका परिकार बनाउँछन् ।

पर्वको मुख्य दिन माघ १ गते
यस दिन बिहानै घरका सबै घरपरिवार एकैसाथ उठेर माघ स्नानको लागि आ–आफ्नो उमेर समूहका ब्याक्तीसंग मिलेर नजिकैको नदी तलाउहरूमा गङ्गा स्नानको लागि जाने गर्छन् । स्नानमा आउँदा–जाँदा बाटोमा थारु समुदायका बुढापाका तथा जान्ने बुझ्ने व्यक्तिहरूले थारु सांस्कृतिक गीतहरू(धुम्रु)गाएर सुनाउने कञ्चनपुर बेदकोटकी सुनिता चौधरीले बताइन् ।  ‘माघ स्नानको पनि छुट्टै महत्त्व रहेको छ, उनले भनिन् । ‘स्नान गर्दा ढुङ्गाको मूर्ति(महादेव)बनाइ जल चढाइन्छ र आफूलाई चाहिएको वरदान मागिन्छ यसरी सबै मिलेर माघ स्नान कार्य सक्काउँछौँ’ । ‘अन्तिममा ठुला व्यक्तिका हातबाट चामलको सेतो टीका ग्रहण गर्छौँ उनले भनिन् ।
स्नान पश्चात् सबैले आ–आफ्नो देवता कोठा अर्थात् (डिहुरार) गई ढकियामा चामल,नुन आदि राखेर पूजा आजा गर्ने चलन रहेको छ ।  पूजा आजा पश्चात् स–सानाहरूले ठुलाबाट शुभ आशीर्वाद ग्रहण गर्ने गर्छन् । 

माघीको दिन विशेष गरी नाचगान तथा सांस्कृतिक कार्यक्रम हुने गर्दछ । अगाडी देखि सिक्ने र घर घरमा गएर माघी नाच नाच्ने प्रचलन रहेको छ । त्यसको लागी सांस्कृतिक टोलीहरू तयार पारिएका हुन्छन् । थारु पहिरन लगाएर मघौटा गीत मघौटा नाच नाच्दै एक अर्काको घरदैलोमा पुगेर प्रेम र आपसी सद्भाव बाँड्दै  रमाइलो गर्ने गरिन्छ । 

झगडा रिस राग सबै भुलेर  नयाँ कार्य ,नयाँ सम्बन्ध र नयाँ वर्षको सुरुवात गर्छौँ सुनिताले भनिन्,‘यो हामी थारुहरूको नयाँ बर्ष पनि भएको हुनाले माघी महिनामै घर झगडाको टुङ्गो र सम्पुर्णगाउँको समस्या बारे हेरफेर हुने गर्छ’। घरायसीमा भाइ भाइ छुट्टाछुट्टै बस्न खोज्दा अशंबन्दा अथवा गाउँका गुरुवा,केसौका, भल मन्सा(बरघर्या)चौकीदार(चौकिदर्वा) फलामको काम गर्ने लुहार, कपडाको काम गर्ने दर्जी आदिका छनौट पनि यसै दिन गरिने उनले बताइन् ।माघी पर्व मनाइसकेपछि विघटन र नयाँ चयन गर्ने कार्य हुन्छ र आ–आफूले पाइएका जिम्मेवारीहरू एक अर्कासँग बर्सभर सहकार्य गरेर बर्ष बिताइन्छ ।

दाइभाइहरुले समय मिलाएर दिदिबहिनीहरुलाइ ‘निस्राउ’ को रुपमा उपहार स्वरूप चामल तथा खानाका परीकार दिदीबहिनीको घरमा पु¥याउन जाने प्रचलन रहेको थारु समुदायका अगुवा बताउँछन् । खानपिनको लागि आफन्तलाई आ–आफ्नो घरमा बोलाइ मिठो मिठो परिकारहरू खान दिने गरिन्छ । माघीको रात भरी आगो ताप्दै  धुम्रु तथा धमार गीत गाउँदै रात बिताउने चलन रहेको थारु समुदायका अगुवा श्याम चौधरीले बताए ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत