• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

स्लोभेनियाली नागरिकमा नेपाली मोह, यसरी मनाइयो सगरमाथा दिवस (फोटोफिचर)

भियना । स्लोभेनियाको राजधानी ल्युब्लियानामा  विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइएको छ । नेपाली राजदूतावास, भियनाको आयोजना तथा स्लोभेनियाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतावासको सहयोगमा सगरमाथा दिवस मनाइएको हो । 

कार्यक्रममा तत्कालीन युगोस्लाभियाको आरोहण टोलीमा रही सन् १९७९ मा सगरमाथाको आरोहण गर्ने पहिलो स्लोभेनियाली नागरिक एन्ड्रे स्ट्रेम्फेल, सगरमाथाको आरोहण गर्ने पहिलो युरोपेली महिला मारिया स्ट्रेम्फेलका साथै कीर्तिमानी आरोहीहरु  डाभो कार्निचार तथा भिक्टर ग्रोसेल लगायतको उपस्थिति थियो । 

स्ट्रेम्फेल दम्पतिले सन् १९९९ मा एकसाथ सगरमाथा आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो दम्पतिको विश्वकिर्तिमान पनि कायम गरिसकेका छन् । 

कार्यक्रमको सुरुवातमा  स्लोभेनियाली प्राध्यापक अनिता प्रिलोभ्सेकले बाँसुरीमा नेपालको राष्ट्रिय धून बजाएकी थिएन । कार्यक्रममा स्ट्रेम्फेलले आफ्नो सगरमाथा आरोहणको अनुभव तथा नेपालका हिमालहरुको बारेमा श्रव्यदृश्य सहितको प्रस्तुती दिएका थिए । 

नेपाली राजदूतावास, भियनाका उप–नियोग प्रमुख अम्बरबहादुर कार्कीले स्लोभेनियामा रहेका हिमाल आरोही, पर्यटन व्यवसायी तथा शुभेक्षुकहरुसँग नेपालको हिमाल आरोहण तथा पर्वतीय पर्यटनका अनुभव तथा जानकारीहरु आदान प्रदान गर्न सगरमाथा दिवस समारोहको आयोजना गरिएको जानकारी दिए ।

जहाँ नेपालका हिमाल आरोहण तथा नेपालका प्राकृतिक सुन्दरता झल्कने फोटो प्रदर्शनीको आयोजना गरिएको नेपाली राजदूतावास भियनाका सहचारी कुलचन्द्र अर्यालले जानकारी दिए । 

सन् १९५३ को मे २९ मा तेन्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको स्मृतिमा मे २९ मा सगरमाथा दिवस मनाउने गरिएको छ ।     

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर