• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

तेस्रो राजनीतिक धार निर्माण गरेरै छाड्छौं : बाबुराम भट्टराई

निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि नयाँ शक्ति पार्टी आन्तरिक समिक्षामा जुटेको छ । यसैक्रममा सो पार्टीको संघीय परिषदकोे विस्तारित बैठक लुम्बिनीमा सम्पन्न भएको छ । नयाँ शक्तिको भविष्य, सरकारका काम कारवाही, राष्ट्रिय राजनीति लगायतका बिषयमा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईसँग गरिएको कुराकानी : यो बिस्तारित बैठकले नयाँ शक्तिमा के परिवर्तन ल्याउँछ ? गुणात्मक रुपमा कुनै फरक पर्छ ?  यो बैठकले नयाँ शक्तिका २ वर्षका अनुभव संश्लेषण गरेर नयाँ बाटो तय गर्छ । पहिलो त वैचारिक ढंगले कांग्रेसले प्रतिनिधित्व गरेको उदारवादी पूँजीवादी धार र कम्युनिस्टहरूले प्रयोग गरेको राज्य नियन्त्रित धारले मुलुकका समस्या समाधान हुन सक्दैनन् । त्यसको विकल्पमा सहभागितामुलक लोकतन्त्रमा आधारित, समुन्नत समाजवादी वैचारिक धार निर्माण गर्छौ । अब हाम्रो स्पष्ट नारा तेस्रो धु्रव निर्माण गर्ने नै हुन्छ । अर्को महत्वपूर्ण काम संगठन अब पुरै पुनर्निर्माण गरेर १ वर्षभित्र महाधिवेशन गर्नेगरी अघि बढ्छौं । त्यसैले यो बैठक नयाँ शक्तिको भविष्यका लागि निकै महत्वपूर्ण छ ।   दुईवटा वाम पार्टी एक भइसकेपछि मुलुकको समृद्धिको नेतृत्व उनैले गर्छन् । त्यसपछि नयाँ शक्तिको औचित्य के हुन्छ ? वाम पार्टी भनेर एमाले र माओवादीका रुपमा जुन दुईवटा संगठन अघि आइरहेका थिए । प्रकारान्तरले ती दलले क्रान्तिकारी आन्दोलन सकिएपछि आफूलाई यथास्थितिवादी शक्तिमा रुपान्तरण गरेका छन् । नाम र ब्रान्ड कम्युनिस्ट भए पनि कम्युनिज्मको सिद्धान्तबाट धेरै पर पुगिसकेको उनीहरू स्वयंले नै बताइरहेका छन् । मनमोहन अधिकारीदेखि केपी ओली र प्रचण्डसम्मले यो कुरा स्विकार गरिसकेका छन् ।  त्यसैले उनीहरूको ब्रान्ड र नामले अब धेरै समय काम दिँदैन । उनीहरूको आचरण र व्यवहार पहिलेदेखि कांग्रेसले गरेको भन्दा फरक छैन । अहिले मन्त्रिमण्डल गठनका लागि भइरहेको खेल हेर्दा पनि त्यो स्पष्ट हुन्छ । मुख्य कुरा देशमा समाधान गर्नुपर्ने जुन २, ३ वटा ठूला विषय छन् त्यसमा पनि उनीहरूको राम्रोसँग व्यवहार पुग्दैन ।  अझ स्पष्ट पारिदिनुस्, के विषय छन् जुन वाम गठबन्धनले पूरा गर्न सक्दैन ?  पहिलो कुरा, हाम्रो मुलुक आर्थिक रुपमा जर्जर, अत्यन्त पिछडिएको र गरिबी बेरोजगारीको दुश्चर्कमा फसेको छ, त्यसबाट बाहिर निकाल्नका निम्ति गुणात्मक ढंगले नयाँ पहल लिनुपर्छ जसको संभावना उनीहरूमा देखा पर्दैन ।  आजकल ‘क्रोनी क्यापिटिलिज्म’ भन्ने शब्द प्रचलनमा छ, राज्यसत्ताको आड लिएर सिमित मान्छेले लाभ लिने त्यो खालको स्वभाव मात्र उनीहरूमा देखिन्छ । अहिले पनि उनीहरूका उठबस गतिविधि त्यही वर्ग र तहसँग मात्र छ ।  दोस्रोकुरा, नेपाल विभिन्न जातीय क्षेत्रीय विविधताले बनेको मुलुक हो । त्यो विविधतालाई सम्बोधन गर्न अहिलेको संघीयतालाई अझ व्यवस्थित ढंगले प्रबर्धन गर्नुपर्ने आवश्यकता छ त्यसमा पनि उनीहरूको सोंच अलि एकमनावादी खालको छ ।  एउटै जाति र समुदायको बर्चस्व कायम गर्ने, त्यही बर्चस्वमा टेकेर राजनीतिक लाभ लिने प्रवृत्ति देखिन्छ । त्यसले समस्या त ल्याइहाल्छ । यी सबै कारणले गर्दा उनीहरूले देशलाई परिवर्तन र अग्रगमनको दिशामा लैजान सक्छन् भन्ने हामीलाई विश्वास छैन ।  आगामी सरकारलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ नयाँ शक्तिको ?  यो सरकारले राम्रो काम गरोस् भन्ने शुभकामना दिन्छौं । जनताको स्थिरता र समृद्धिको जुन चाहना छ त्यही नारालाई अघि सारेर उनीहरू आएका छन् । त्यसैले यो काममा सफल होऊन् भन्ने नै हाम्रो शुभकामना हुन्छ । राम्रा कामका लागि हाम्रो समर्थन हुन्छ । सँगसँगै चरित्रगत स्वभावले गर्दा कतिपय गर्न नसक्ने खालका कुरा छन् । त्यस्ता कमिकमजोरी र गल्ती औंल्याएर आलोचना गर्दैै सुध्रिनका निम्ति सहयोग गर्ने हाम्रो नीति हुन्छ ।  नयाँ शक्ति फेरि अन्य दलसँग मिल्ने हो की ! वाम गठबन्धनमै पो जाने हो की भन्ने पार्टीकै कार्यकर्तामा समेत आशंका देखिन्छ । के भन्नुहुन्छ यसबारे ?  त्यो बिल्कुल गलत कुरा हो । वैकल्पिक राजनीति भनेकै हिजो जुन विकृति विसंगति देखापरे त्योभन्दा माथि उठेको फरक राजनीतिक धार हामीले सिर्जना गर्न खोजेको हो । कुनै पनि आशंका पाल्नुपर्ने ठाउँ छैन । विश्वमा दुईथरी राजनीति चलिरहेको छ एउटा सत्ताका लागि सत्ता र अर्को परिवर्तनका लागि सत्ता । यीमध्ये दोस्रो धार अघि बढाउने नै हाम्रो प्रयास हो ।  नेपालमा कांग्रेस र कम्युनिस्ट ब्रान्डको राजनीतिले समस्या समाधान गर्न सक्दैन भन्ने जनतामा बोध भइसकेको छ । त्योभन्दा माथि उठेको तेस्रो समुन्नत समाजवादको धार निर्माण गर्ने उद्देश्यबाट पछि हट्ने कुरै छैन ।  नयाँ सरकारले भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्न सक्ला ? त्यसबारे केही सुझाव छन् तपाईंका ?  यो पनि एउटा ठूलो चुनौती छ सरकारका सामु । यसबाट पार पाएर अघि बढोस् भन्ने हाम्रो शुभकामना छ । तर उनीहरूले आफ्नो सत्तास्वार्थका लागि कहिले चर्को राष्ट्रवादको कुरा गरेर मत बटुल्ने र कहिले सत्तामा टिक्नका लागि वैदेशिक शक्तिसँग अनावश्यक रुपमा झुक्ने प्रवृत्ति देखाएका छन् । जसका कारणले गर्दा भूराजनीतिक सन्तुलन मिलाएर अघि बढ्न उनीहरूलाई ठूलो चुनौती आउने देखिन्छ ।  अन्तिममा तपाई संघीय संसदमा एक्लै हुनुहुन्छ पार्टीबाट । कस्तो भूमिका खेल्नुहुन्छ ?  म त वैचारिक रुपमा विपक्षको बेन्च सदन र सडक दुवैतर्फ खालि हुने देख्छु । किनकी, कांग्रेसले विपक्षको भूमिका प्रभावकारी ढंगले निभाउन सक्दैन । त्यस्तो अवस्थामा सुविचारित पारदर्शी राजनीति गर्ने भनेर जुन वकालत गरिरहेका छौं त्यसको पैरवी गर्ने मुख्य जिम्मा हाम्रै हुन्छ ।  सदन र सडक दुवै मोर्चा हाम्रो निम्ति खुल्ला भएको छ त्यसको प्रयोगका लागि तयारी गरिरहेका छौं । देशमा व्याप्त समस्या समाधानका लागि अब सदन र सडकबाट सरकारलाई घच्घचाउने ढंगले अघि बढ्छौं ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर