• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ – स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन ।

पहिला अन्य देशहरुको अवस्था हेरेर र कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन्।

लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको र अहिले पनि लकडाउन मात्र समाधान हो भन्ने किसिमबाट सरकार नजाने खतिवडाले बताए।

सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम र लकडाउन हुन्छ भनेर पनि नआत्तिन आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले भने, ‘शुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन हो भनेर त्यहि गरियो तर अब त्यो हुदैन । विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्‍यौँ। हामी पनि आतंकित भयौँ। गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्‍यौँ। त्यसले केही मृत्युदर घटायो होला भन्ने अनुमान गर्न सकिन्छ। तर त्यसले परेको शैक्षिक क्षेत्रको असर, औद्योगिक, राजश्व, सामाजिक क्षेत्रका अनेक कामहरुलाई पुगेको क्षति, नदेखिने यो क्षति मृत्यु भन्दा पनि भयावह ढंगले भयो। त्यसैले अब हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ।’

उनले आवश्यकता हेरेर लकडाउन गनैपर्ने खास ठाउँमा लकडाउन गर्ने पनि स्पष्ट पारे। उनले सरकारले सबै ठाउँमा आइसोलेसन वार्डहरु, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेला भन्दा दुई तीन गुणा बढी रहेको बताए।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे।

मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए।

उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोना बिरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर