• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

चुनावकै मुखमा सत्तारुढ–एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन् । दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो । प्रहरी प्रधानकार्यालयका अनुसार दुई सातायता डेढ सयभन्दा बढी कुटपिट र विवादका घटना भएका छन् । 

मंगलबार मात्र तनहुँ, दार्चुला, स्याङ्जा र प्युठानमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भए । ३० वैशाखमा स्थानीय तह निर्वाचन हुँदै छ । तर, राजनीतिक दलका कार्यकर्ताहरूबीच भने झडपका घटना बढेका छन् । मंगलबार तनहुँको भिमादमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा सात जना घाइते भए ।  

मंगलबार साँझ दार्चुलाको दुहु गाउँपालिका– ५ का एमालेका वडाध्यक्ष पदका उम्मेदवार मानसिंह बडालमाथि कुटपिट भयो । सत्तरुढ गठबन्धनका कार्यकर्ताको कुटपिटबाट घाइते उनको जिल्ला अस्पताल दार्चुलामा उपचार गरेपछि थप उपचारका लागि राति नै धनगढी पठाइएको थियो । सो घटनामा घाइते भएका अन्य दुईजनाको अवस्था भने सामान्य रहेको छ । 

पूर्व नवलपरासीको हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकताबीच झडप भएको थियो । हुप्सेकोट गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष उम्मेदवार पूर्णसिंह रानामाथि एमाले कार्यकर्ताले २० वैशाखको राति आक्रमण गरेका थिए । ५०/६० वटा मोटरसाइकल र केही संख्यामा गाडीमा आएका एमाले कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका थिए ।  

एमालेका कार्यकर्ताले प्रहार गरेको खुकुरीबाट बैतडीमा माओवादी केन्द्रका उम्मेदवार घाइते भएका थिए। वडा सदस्यमा उम्मेदवारी दिएका ६० वर्षीय हरिराम साउदमाथि एमालेका कार्यकर्ताले गत २० वैशाखमा खुकुरी प्रहार गरेका थिए । उनीमाथि एमालेका कार्यकर्ताले राति साढे १० बजे खुकुरी प्रहार गरेका थिए ।

प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्लीमा मंगलबार नै एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन् । सोमबार महोत्तरी, मकवानपुर, गुल्मी, रुकुमपश्चिम, रुपन्देही, दैलेख, बैतडीसहित जिल्लामा झडपका घटना भए । महोत्तरीको रामगोपालपुर– ७ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको थियो भने मकवानपुरको बकैया गाउँपालिका–७ मा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा दुईजजना घाइते भएका थिए । 

गुल्मीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच सोमबार कुटाकुट भयो । झपडमा परेर माओवादीका गाउँपालिका कमिटीका अध्यक्ष लिलबहादुर केसी घाइते भए । 

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १० मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार चक्र कुमारीले प्रचारमा प्रयोग गरेका मोटरसाइकल माओवादी कार्यकर्ताले तोडफोड र आगजनी गरेपछि दुवै पक्षबीच झडपको अवस्था सृजना भयो । पछिल्ला केही दिनयता रुकुमपश्चिममा दैनिकजसो विवाद र झडप भइरहेका छन् ।  

यस्तै सोमबार नै रुपन्देहीको बुटवलमा वडा नम्बर १२ का अध्यक्ष उम्मेदवार देवीप्रसाद रेग्मीको बा.२०च ६७८५ नम्बरको गाडीमा आक्रमण भयो । दैलेखको आठबिस नगरपालिका–४ मा एमालेका उम्मेदवारले चुनावी प्रचारका लागि प्रयोग गरेको बा.१९च ५५७९ नम्बरको गाडीमा आगजनी भयो । मोरङको बेलबारी नगरपालिकामा कांग्रेसका कार्यकर्ताले राप्रपाका मेयर र उपमेयरले चुनावी प्रचारका लागि प्रयोग गर्ने गरेको गाडीमा राति आगजनी गरे ।  

बैतडी डिलासैनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका माओवादीका लोकेन्द्र राना कुटपिट गरेको आरोपमा पक्राउ परे । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबीच झडप भएका हुन् । उम्मेदवार चयनदेखि प्रचारप्रसारका विषयमा विवाद हुँदा कुटपिट, विवाद र झडपका घटना भएका हुन् । 

निर्वाचनमा सहभागी भएका दलहरुबीचकै झडपको अवस्थाले प्रहरीलाई चुनौती थपेको छ । यसअघिका निर्वाचनमा भूमिगत समूहबाट सुरक्षा चुनौैती रहेको निष्कर्षसहित रणनीति तय गरेको प्रहरी यसपटक निर्वाचनमै सहभागी झडप नियन्त्रणमा खटिएको छ ।  

सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी एमालेका दुईजना घाइते भएका छन् ।  घाइते हुनेमा ३६ वर्षीय सुनिल विक र २६ वर्षीय इन्द्र विक रहेका छन् । दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका थिए । उनीहरूले केही बेर प्रहरीसँग विवाद पनि गरेका थिए ।  प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा चार जना प्रहरी सामान्य घाइते भएको घर्तीले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर