तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन सकिदैन – यातायात कार्यालय कास्की

पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको छ । मंगलबार एक सूचना जारी गरी कार्यालयले आफूहरुसँग सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्ति नभएको भन्दै सबैलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको हो ।
पोखरास्थित यातायात व्यवस्था कार्यालयले नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने बताएको छ ।
कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल यस कार्यालयमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य सुचारु रहने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’
कार्यालयले आफूहरुको क्षमता दिनमा ४० देखि ५० जनाको बायोमेट्रिक लिने र डकुमेन्ट स्क्यान गर्ने मात्र रहेको बताएको छ ।
सरकारले एक महिना समयावधि तोकेर सूचना जारी गरेपछि अहिले कार्यालय परिसरमा सवारी साधनको चाप लागेको छ ।
नेपाल सरकारले असार महिनाभित्रै गण्डकी र बागमतीमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना निकालेको थियो । उक्त सूचनामा साउन महिनाबाट आफ्ना सवारी साधनमा इम्बोस्ड प्लेट जडान नगरे कारवाही जनाइएको छ । एक महिना समय दिएर सरकारले जारी गरेको उक्त सूचनाबारे भने धेरैले लागू गर्न नसकिने भन्दै प्रतिक्रिया दिइरहेका छन् ।
प्रतिकृया दिनुहोस